भारतीय अर्केस्ट्रामा बेचिएका सिरहा र धनुषाका दुई नेपाली किशोरीको उद्धार, थप चारलाई ल्याउने तयारी

जनकपुर — विभिन्न प्रलोभनमा परी दलालमार्फत भारतीय अर्केस्ट्रामा बेचिएका सिरहा र धनुषाका दुई किशोरीलाई भारतको बिहारबाट उद्धार गरी नेपाल फर्काइएको छ। भारतीय प्रहरीले एक महिनाअघि उनीहरूलाई उद्धार गरेर सिवानस्थित बाल कल्याण गृहमा आश्रय दिएको थियो।

त्यहाँबाट बिहीबार नेपाल ल्याइएका ती किशोरीहरूलाई शुक्रबार जिल्ला प्रशासन कार्यालयको समन्वयमा अभिभावकको जिम्मा लगाइएको छ। बेचबिखन विरुद्ध सक्रिय संस्था ‘आफन्त नेपाल’ वीरगञ्ज शाखाका शाखा प्रमुख मनु रानाका अनुसार, उद्धार गरिएका किशोरीहरू १९ वर्षका छन्। एक जना धनुषा र एक जना सिरहाका हुन्। उनीहरूलाई भारतीय प्रहरी, आफन्त इन्डिया फाउन्डेसन र सिवानको बाल कल्याण गृहको समन्वयमा बिहीबार नेपाल ल्याइएको हो।

उनीहरूमध्ये धनुषाकी किशोरी झन्डै तीन महिनाअघि गाउँकै एक दलालमार्फत बिहारको छपरास्थित अस्मिता अर्केस्ट्रा समूहमा पुगेकी थिइन्। ती किशोरीका अनुसार, उनीमाथि निरन्तर मानसिक र शारीरिक यातना दिइयो। उनलाई मदिरा खुवाएर जबर्जस्ती नचाउने, कोठामा थुनेर राख्ने, कुटपिट गर्ने र काम गरेबापतको पारिश्रमिक समेत नदिने गरिएको थियो। अर्केस्ट्रामा राखेर उत्पीडन गरिएको पुष्टि भएपछि भारतीय प्रहरीले एक महिना अघि उद्धार गरेको थियो।

सिरहाकी किशोरी भने एक महिनाअघि मात्रै छपरा पुगेकी थिइन्। उनले भारतीय प्रहरीले आफूलाई अर्केस्ट्रा पुगेको तेस्रो दिनमै उद्धार गरेको बताइन्। आफूले त्यस अवधिमा नृत्य नगरेको भए पनि एक वर्षअघि भने छपराकै अर्केस्ट्रामा तीन महिना नाचेर १० हजार भारु कमाएर फर्किएको अनुभव उनले सुनाईन।

शाखा प्रमुख रानाले जानकारी दिएअनुसार सोही बाल गृहमा अझै तीन नेपाली युवती छन्। त्यसबाहेक, छपराकै अर्केस्ट्रा ग्रुपमा बुटवलकी एक युवती पनि अत्यन्तै संकटपूर्ण अवस्थामा रहेको जानकारी आफूसँग आएको उनले बताए। ‘हामी ती चारै जना नेपाली युवतीलाई छिट्टै उद्धार गरी नेपाल फर्काउने प्रयासमा छौं,’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट