सिरहा र झापामा गोली प्रहार गरी लागु औषध तस्कर पक्राउ, पक्राउ पर्ने दुवै विहारका

राजविराज– नेपाल–भारत सीमामा लागुऔषध कारोबारविरुद्ध प्रहरीले सशक्त कारबाही थालेको छ। शनिबार मात्रै सिरहा र झापामा प्रहरीले गोली चलाएर दुई भारतीय लागुऔषध तस्करलाई नियन्त्रणमा लिएको छ।

सिरहाको नवराजपुर गाउँपालिका–४ स्थित सोनवर्षा चौक नजिकै लागुऔषध (खैरो हिरोइन)सहित एक भारतीय नागरिकलाई प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्य अन्तर्गत मधुवनी जिल्ला, ग्रामपञ्चायत बिरपुर–९ का ३८ वर्षीय श्यामसुन्दर पासवान छन्। उनी शनिबार दिउँसो करिब पौने ४ बजे बीआर–३२–एम–७३३८ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै थिए। प्रहरीले रोक्न खोज्दा भाग्न थालेपछि गोली प्रहार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार, भाग्न खोज्दा प्रहरीले एक राउन्ड गोली चलाएर श्यामसुन्दरलाई नियन्त्रणमा लिएको हो। उनको साथबाट करिब ५० ग्राम खैरोहिरोइन बरामद गरिएको छ।

यसैगरी, झापाको भद्रपुर–५ बसपार्क नजिकै दिउँसो करिव पौने ४ बजे प्रहरीले गोली प्रहार गरी बिहारको किशनगञ्ज जिल्ला कुर्लिकोट निवासी ३६ वर्षीय मोहम्मद इस्लामलाई लागू औषधसहित पक्राउ गरेको छ।

लागूऔषध ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले उनलाई नियन्त्रणमा लिएको हो। एसपी राजन लिम्बूका अनुसार इस्लामले प्रतिकार गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर र अर्को राउन्ड उनको बायाँ खुट्टाको घुँडामुनि हानेर समातेको हो।

इस्लामसँग प्लास्टिकसहित झन्डै ११० ग्राम २ एमजीको ब्राउन सुगर फेला परेको छ। प्रहरी स्रोतका अनुसार, प्रहरीले ब्राउन सुगर खरिद गर्न होटलमा योजना बनाएको थियो र कारोबारी पुग्नासाथ पक्राउ गर्ने क्रममा गोली चलाउनुपरेको हो।

घाइते इस्लामको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट