सुनसरीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

इटहरी– सुनसरीको दुहबी नगरपालिका–२ मा शुक्रबार राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को ६ प ५२४१ र को ३२ प १५०४ नम्बरका मोटरसाइकल एक आपसमा ठोक्किँदा गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँ गम्भीर घाइते भएका थिए। उनलाई तत्काल विराटनगरस्थित विराट नर्सिङ होम लगिएको भए पनि उपचारकै क्रममा राति साढे १० बजे मृत्यु भएको हो।
दुर्घटनामा मियाँसँगै पछाडि सवार १७ वर्षीय सबाद आलम र अर्का मोटरसाइकल चालक २२ वर्षीय विश्वजित चौधरी गम्भीर घाइते भएका छन्। दुवैको विराट नर्सिङ होममा उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकलमा सवार महेश चौधरी भने घटनापछि फरार छन्। उनको खोजी जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।