सप्तरीको डाक्नेश्वरीमा ४ राउण्ड फायर गरेर आपराधिक गतिविधिमा संलग्न दिपक मरिक पक्राउ

राजविराज — सप्तरी प्रहरीले आईतबार राति ४ राउण्ड हवाई फायर गरेर आपराधिक गतिविधिमा संलग्न एक अभियुक्तलाई पक्राउ गरेको छ।
डाक्नेश्वरी नगरपालिका–५ औरहीमा गोली चलाएर स्थानीय २८ वर्षीय दिपक मरिकलाई पक्राउ गरिएको हो। हातहतियार बोलेर लुटपाट गर्ने र आतंक मच्चाउने गरेको सूचनाका आधारमा नियन्त्रणमा लिन पुगेको प्रहरीलार्य देखेपछि भाग्न खोजेका मरिकलाई चार राउण्ड हवाई फायर गरी पक्राउ गरिएको सप्तरीका डीएसपी जितेन्द्र वस्नेतले जानकारी दिए।
उनका अनुसार मरिक लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न रहँदै आएका थिए। पक्राउको क्रममा झडप हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरक्षाको उपायस्वरूप गोली चलाइएको प्रहरी स्रोतको भनाइ छ।
प्रहरीका अनुसार मरिकमाथि नेपाल र मलेसियामा आपराधिक मुद्दा दर्ता छन्। घटनासम्बन्धी विस्तृत विवरण प्रहरीले अझै खुलाएको छैन। प्रहरीले खोजी तथा अनुसन्धान कार्य जारी राखेको र आवश्यक जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाएको छ।
यसअघि आईतबार विहान लागुऔषध कारोबारी पक्राउ गर्न छिन्नमस्ता गाउँपालिका–१ बरहीबिरपुरमा दुई राउण्ड हवाई फायर गरिएको थियो। त्यस क्रममा बरहीबिरपुरका २९ वर्षीय बिशाल राय र डाक्नेश्वरी नगरपालिका–७ मझौरा निवासी ३९ वर्षीय मनोज राय पक्राउ परेका थिए।
उनीहरूको साथबाट १ सय ७७ ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।