सप्तरीको सुरुङ्गामा लुटपाट र हत्या प्रकरणमा संलग्न अभियुक्त डाक्नेश्वरीबाट पक्राउ, पत्रकार सम्मेलन गर्दै प्रहरी

राजविराज — करिब डेढ महिनाअघि सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनमामा भएको लुटपाटपछि हत्या घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले आइतबार राति डाक्नेश्वरीबाट पक्राउ गरेको छ।

डाक्नेश्वरी नगरपालिका–८ औरहीका २८ वर्षीय दीपक मरिकलाई प्रहरीले गोप्य सूचनाका आधारमा डाक्नेश्वरी–५ बाट पक्राउ गरेको हो। नियन्त्रणमा लिन खोज्दा मरिक भाग्न खोजेपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेर उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

गत जेठ २२ गते राति सुरुङ्गा–८ मल्हनमामा भएको लुटपाट र हत्या घटनामा मरिकको संलग्नता देखिएको प्रहरीको दाबी छ। उक्त राति ५० वर्षीय कान्तलाल चौधरीको घरमा अज्ञात समूहले लुटपाट मच्चाएको थियो। त्यस क्रममा कान्तलालको गोली हानी हत्या गरिएको थियो भने उनका भाइ ४० वर्षीय रामकान्त चौधरीमाथि धारिलो हतियारले आक्रमण गरिएको थियो।

उक्त समूहले नगद ५०–६० हजार, ५ तोला सुन, २ किलो चाँदीलगायतका सामग्री लुटेर फरार भएको थियो। घटनापछि प्रहरीले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुर (जंगे) को सहयोगमा अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा मरिकको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको हो।

प्रहरीले घटनामा अन्य व्यक्तिहरूको संलग्नता पनि देखिएको बताएको छ। अनुसन्धानका विस्तृत विवरण प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट