बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै प्रहरी कार्यालयमा अभियुक्तको बर्थडे पार्टीः इन्स्पेक्टरलाई विभागीय कारबाही सिफारिस

राजविराज– बलात्कार मुद्दामा सफाइ पाएको भोलिपल्टै आरोपीसहित जन्मदिनको पार्टी मनाएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय सप्तरीका तत्कालीन अनुसन्धान अधिकृत इन्स्पेक्टर मनीष श्रेष्ठलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरी परिसरस्थित डिएसपी निवासमा आरोपीसहितको ‘बर्थ डे सेलिब्रेसन’ आयोजना भएको विषयमा गठित छानबिन समितिले इन्स्पेक्टर श्रेष्ठलाई कारबाही सिफारिस गर्दै तत्कालीन डिएसपीलाई भने उन्मुक्ति दिएको हो।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी नारायण रञ्जितकारको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले प्रतिवेदन प्रदेश प्रहरी कार्यालयका डिआइजी उमाप्रसाद चतुर्वेदीलाई बुझाएको हो।

डिआइजी चतुर्वेदीका अनुसार छानबिनमा डिएसपी जितेन्द्रकुमार बस्नेतलाई निर्दोश देखाईएको छ। ‘इन्स्पेक्टरले पनि आरोपीलाई बोलाएको होइन, तर आफैंले मुद्दा चलाएको व्यक्तिसँग नबस्नुपर्ने हो। उनीसँग बसेर फोटो खिचेको र ‘सेलिब्रेसन’ गरेको पुष्टि भएकाले तत्कालीन अनुसन्धान अधिकृत मनीष श्रेष्ठलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको हो,’ चतुर्वेदीले बताए।

यो प्रकरण ४ जेठमा सुरु भएको हो। जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका राजविराज नगरपालिका–६ का आकाश आदर्शले भोलिपल्टै तत्कालीन अनुसन्धान अधिकृत इन्स्पेक्टर श्रेष्ठको जन्मदिनको नाममा पार्टी आयोजना गरेका थिए।

डिएसपी बस्नेतको क्वार्टरमा आयोजित सो पार्टीमा डिएसपी बस्नेतसहित इन्स्पेक्टर श्रेष्ठ, इन्स्पेक्टर उदयकुमार राई र सफाइ पाएका आकाश आदर्शसहित सहभागी थिए।

आकाश विरुद्ध, ०८१ असोजमा राजविराजस्थित तन्दुरी रेस्टुरेन्टमा काम गर्ने एक महिलाले आफूलाई जबर्जस्ती करणी गरी भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिएको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरीका आधारमा इन्स्पेक्टर श्रेष्ठलाई अनुसन्धान अधिकृत तोकी आदर्शलाई नियन्त्रणमा लिइएको थियो।

थुनछेक बहसपछि आदर्श पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। अनुसन्धान टुंग्याएर इन्स्पेक्टर श्रेष्ठले २० कात्तिकमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत सप्तरीमा आरोपपत्र दायर गरेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट