सुनसरीमा बस र विङ्गर माइक्रो ठोक्किँदा ४ जनाको मृत्यु, १६ घाइते

इटहरी — पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवा टोलमा बस र विङ्गर माइक्रो एकआपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्।
झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगर जाँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो सोमबार बिहान करिब ७ बजेतिर ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा ४ जनाको मृत्यु भएको र घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको कोशी प्रदेशका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई इनरुवा जिल्ला अस्पताल, सप्तकोसी न्युरो अस्पताल र नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ।
बस चालक झापाको अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विङ्गर चालक घाइते अवस्थामा उपचाररत छन्।
घटनापछि सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्र, एसपी सुमनकुमार तिम्सिना, डीएसपी योगराज खतिवडा लगायतका सुरक्षा अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।