गाँजा तस्कर जोगाएको आरोपमा एसपी हटाईए, डीएसपीको टिम बलात्कार मुद्दामा एक तहबाट सफाई पाएका व्यक्तिसँग ‘बर्थडे पार्टी’मा

राजविराज– गाँजा तस्करलाई भगाएको, प्रतिवादी बनाइनुपर्ने व्यक्तिलाई प्रमाण नष्ट गरेर जोगाएको र फरार अभियुक्तहरूसँग मिलेर पैसा असुल गरेको गम्भीर आरोपपछि सप्तरीका एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको प्रहरी टिम फेरि अर्को विवादमा तानिएको छ।
यसपटक विवादको केन्द्रमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी जितेन्द्रकुमार बस्नेत, मुद्दा फाँटका इन्चार्ज इन्स्पेक्टर उदयकुमार राई र अर्का इन्स्पेक्टर मनीष श्रेष्ठलगायत छन्।
स्रोतका अनुसार राजविराज–६ का आकाश आदर्शले गत ४ जेठमा बलात्कारको मुद्दाबाट जिल्ला अदालत सप्तरीबाट सफाइ पाएका थिए। त्यसको भोलिपल्टै (५ जेठ) आकाशले आफ्नै मुद्दाको अनुसन्धान अधिकृत रहेका प्रहरी निरीक्षक श्रेष्ठको जन्मदिन डिएसपी बस्नेतको सरकारी निवासमा भव्य रूपमा मनाएका छन्।
पार्टीमा डिएसपी बस्नेत, इन्स्पेक्टर श्रेष्ठ र राईसहित मुद्दाबाट छुटेका आकाश आदर्श स्वयं सहभागी थिए।
आदर्शविरुद्ध २०८१ असोजमा आफ्नै रेस्टुरेन्टमा काम गर्ने एक महिलाले बलात्कार गरेको आरोपमा जाहेरी दिएकी थिइन्। जाहेरी अनुसार, आदर्शले पीडितमाथि बलात्कार गरेर भिडियो खिची सार्वजनिक गर्ने धम्की दिएका थिए। इन्स्पेक्टर मनीष श्रेष्ठलाई अनुसन्धान अधिकृत तोक्दै मुद्दा अघि बढाइएको थियो।
थुनछेक बहसपछि आदर्श पाँच लाख धरौटीमा रिहा भएका थिए भने जिल्ला अदालतले ४ जेठमा प्रमाण नपुगेको भन्दै सफाइ दिएको थियो। तर सोही मुद्दाको अनुसन्धान अधिकृतको जन्मदिन मनाउन उनी ५ जेठमा डिएसपीको क्वार्टरमा देखिए।
डिएसपी बस्नेतले पार्टी आफ्नै निवासमा भएको स्वीकार गरे पनि, मुद्दाको पृष्ठभूमिबारे जानकारी नभएको दाबी गरेका छन्। ‘इन्स्पेक्टर श्रेष्ठ जन्मदिन मनाउन आउनुभएको थियो, आकाश आदर्श पनि थिए’ बस्नेतले भने, ‘तर उनलाई सफाइ भएको वा मुद्दा के थियो भन्ने जानकारी मलाई थिएन।’
प्रहरी निरीक्षक श्रेष्ठले पनि आफ्नो जन्मदिनमा आदर्श सहभागी भएको स्वीकार गरेका छन्।
कानुन ब्यवसायीहरुले भने यो विषमा आश्चर्य ब्यक्त गरेका छन्। ‘एक तहको अदालतले सफाइ दिएको भोलिपल्टै अनुसन्धान अधिकृत र प्रहरी नेतृत्वले प्रतिवादीसँग डिएसपी निवासमै पार्टी गर्नु गैरजिम्मेवार र अनैतिक कार्य हो। यसमा केन्द्रीय प्रहरी नेतृत्वले गम्भीरता देखाउनुपर्छ।’
मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी उमाप्रसाद चतुर्वेदीले घटनाको छानबिन भइरहेको पुष्टि गरेका छन्। ‘विषय गम्भीर छ, त्यसबारे म जानकार छु। हाल छानबिन प्रक्रिया अघि बढिरहेको छ’– चतुर्वेदीले भने।
यसअघि सप्तरी प्रहरी प्रमुख रहँदा एसपी ढकेन्द्र खतिवडामाथि गाँजा तस्करलाई फरार गराएको, प्रतिवादी ललिता कुमारी साहलाई जोगाएको र फरार अभियुक्तहरूसँग आर्थिक लेनदेन गरेको आरोप लागेको थियो। त्यसपछि उनलाई पदमुक्त गरिँदै जिल्ला प्रहरीमा पुनः सन्तुलन मिलाइएको थियो।
तर सोही टिमका सदस्यहरू अहिले बलात्कार मुद्दाको अनुसन्धानमा संलग्न रहँदा प्रतिवादीसँग ‘सम्बन्ध’ देखाउँदै फेरि विवादमा तानिएका छन्।
यसरी सप्तरी प्रहरी एकपछि अर्को विवादमा तानिँदा प्रहरी संगठनको विश्वसनीयता र अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।