विवाहेत्तर सम्वन्धको बोझ थाम्न नसकेर युवतीले रोजिन मृत्यु, नाताभित्रका प्रेमी फरार

हेटौंडा — मकवानपुरको हेटौंडा–८, कमानेकी एक विवाहित युवतीले विवाहेत्तर सम्बन्धको बोझ थाम्न नसकेर विष सेवन गरी ज्यान दिएको घटना अहिले चर्चामा छ। हाडनातामा पर्ने प्रेमीले सम्बन्ध राखेर उल्टै भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेल गर्न थालेपछि उनले विष सेवन गरी मृत्युको बाटो रोजेकी हुन्।
घटना साउन ९ गतेको हो। झारमार्ने विष सेवन गरेकी युवतीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई चितवनस्थित अस्पताल पुर्याइएको थियो। उनलाई भाई र उनै प्रेमीले अस्पताल पु¥याएका थिए। चिकित्सकले विषले शरीरको अधिकांश अंगमा असर गरिसकेको र उपचार सम्भव नभएको बताएपछि उनलाई हेटौंडास्थित चुरे हिल हस्पिटलमा स्थानान्तरण गरिएको थियो, जहाँ १३ दिनको उपचारपछि गत बुधबार राति करिब ११ बजे युवतीको मृत्यु भएको हो।
मृतकका भाइका अनुसार, ४४ वर्षीय सुरज कार्कीले ‘सपना’ नामको फेसबुक आइडीमार्फत भिडियो बाहिर ल्याउने धम्की दिंदै साढे ३ लाख रुपैयाँ असुल गरेका थिए। कार्कीले ‘तेरो लोग्नेले गाडी बेचेको पैसा चाहिन्छ’ भन्दै समेत धम्क्याउने गरेको आरोप पनि छ। मृतकका पति गाडी चालक हुन।
सुरज कार्की पीडितको नातेदार हुन्। उनले पीडितलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ मा जागिर लगाइदिएका थिए। जागिर लगाइदिएपछि नै उनले निरन्तर मानसिक दबाब दिँदै ब्ल्याकमेल गरेको पीडित पक्षको दाबी छ।
मृतकका परिवारले घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता गरेका छन्। प्रहरीले आरोपितलाई हदैसम्मको कारवाही गर्ने आश्वासन जनाएपछि मृतको अन्त्येष्टि आइतबार गरिएको छ।
एसपी विश्वराज खड्काका अनुसार, आरोपी फरार छन् र उनको खोजी कार्य जारी छ। ‘उनको मोबाइल अफ छ, तर हामी नजिक पुगेका छौं,’ खड्काले भनेका छन्। घटनापछि आक्रोशित स्थानीयले कार्कीको घर जलाउने तयारी गरेपछि प्रहरीको सुरक्षा व्यवस्था मिलाइएको छ।
अन्य केही महिलाले पनि कार्कीले आफूलाई आकर्षित गर्ने प्रयास गरेको बताएका छन्। तर थप उजुरी भने परेको छैन। कार्कीको परिवार अहिले टोलछिमेकमा सामाजिक रूपमा बहिष्कृत भएको बताइएको छ।