दुहबीमा निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र पेटी ठेकेदार र कामदार मृत फेला

इटहरी — सुनसरीको दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको ‘सेफ्टी ट्यांकी’भित्र पेटी ठेकेदार र कामदार मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान करिब १० बजे घर निर्माणस्थलमा दुई जनाको शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सुनसरी प्रहरीका डीएसपी योगराज खतिवडाका अनुसार दुहबी–२ निवासी अन्दाजी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव फेला परेको हो। तामाङले पेटी ठेकेदारका रूपमा घर निर्माणको जिम्मा लिएका थिए भने राई त्यहाँ कामदारको रूपमा कार्यरत थिए।
घटनास्थल चन्द्रिका रौनियारको नयाँ घर निर्माण भइरहेको स्थान हो। प्रारम्भिक जानकारी अनुसार दुवै जनाको मृत्युको कारण तत्काल स्पष्ट भएको छैन। डीएसपी खतिवडाले भने, ‘यो दुर्घटना हो वा हत्या भन्ने कुरा विस्तृत अनुसन्धानपछि मात्र यकिन हुनेछ।’
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रारम्भिक जाँचपछि थप प्रमाण संकलनका लागि फरेन्सिक विज्ञको टोली र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञलाई घटनास्थल बोलाइएको छ।
घटनास्थल दुहबी इलाका प्रहरी कार्यालयदेखि करिब दुई किलोमिटर पूर्वमा पर्छ। हाल दुवै शव घटनास्थलमै रहेको र मृत्युको कारण पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ।