विवाहको साता दिनमै छुरा देखाएर श्रीमतीलाई बलात्कार गरेको कसुरमा ६ महिना कैद र १ लाख जरिवाना

जनकपुर— विवाह भएको एक सातामै श्रीमतीलाई छुरा देखाएर बलात्कार गरेको अभियोगमा धनुषाका एक पुरुषलाई दोषी ठहर गर्दै जिल्ला अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको छ।

धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको इजलासले पीडितको मञ्जुरीबिना भएको जबरजस्ती करणी पुष्टि गर्दै सो सजाय तोकेको हो। अदालतले गत जेठ १३ गते प्रतिवादीलाई दोषी ठहर गरेको र जेठ ३० गते सजाय निर्धारण गरी पूर्णपाठ बिहीबार सार्वजनिक गरेको हो।

०७९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएका दम्पतीबीच केही समयमै घटना घटेको थियो। श्रीमानले हनिमुनका लागि काठमाडौं जान प्रस्ताव गरे पनि श्रीमतीले पर्याप्त चिनजान नभएको भन्दै अस्वीकार गरेकी थिइन्। तर, विवाह भएको एक सातापछि वैशाख २१ गते राति श्रीमान् मदिरा सेवन गरी कोठामा प्रवेश गरी खाना खान आग्रह अस्वीकार गर्दै चुकुल लगाई बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।

‘मलाई छुरा देखाएर जबर्जस्ती बेडमा लडाई, लगाएको लुगा फुकालेर बलात्कार गरी रगताम्मे बनाईयो’– पीडितको उजुरीमा भनिएको छ। यस घटनामा पीडित गम्भीर घाइते भइ यौनांग च्यातिएको अवस्थामा जनकपुरस्थित रामजानकी अस्पतालमा १० दिनसम्म उपचार गराइएको थियो। थप उपचार भारतको सीतामढीमा पनि गरिएको थियो।

पीडितको पक्षबाट बहस गर्ने अधिवक्ताले मेडिकल रिपोर्ट, अस्पतालका कागजात, स्वास्थ्य परीक्षण गर्ने चिकित्सकहरूको बयान र प्रत्यक्षदर्शीहरूको बयानसहित पर्याप्त प्रमाण प्रस्तुत गरेका थिए। न्यायाधीश बर्देवाले दुवै पक्षका वकिलको बहस तथा वादी–प्रतिवादीको बयानका आधारमा अभियोग पुष्टि भएको ठहर गरे।

अदालतको पूर्णपाठमा भनिएको छ, ‘पीडित र प्रतिवादीबीच हालसम्म पति–पत्नीको नाता रहेको, वारदातपछि पनि प्रतिवादीसँगै रहेकी, पीडितलाई उपचारका लागि प्रतिवादीले नै साथ दिएको देखिन्छ। प्रतिवादीले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(४) बमोजिम कसुर गरेको पाइएकाले ६ महिना कैद सजाय र दफा २२८ बमोजिम एक लाख क्षतिपूर्तिको रकम तिर्नुपर्ने ठहरिन्छ।’

नेपालमा वैवाहिक बलात्कारलाई कानुनी अपराधका रूपमा व्याख्या गर्ने क्रमसँगै यस प्रकरणलाई महत्वपूर्ण मिसालका रूपमा लिइएको छ। अदालतले दाम्पत्य सम्बन्ध कायम रहेको अवस्थामा समेत सहमति विना भएको यौन सम्पर्कलाई आपराध मानेर सजाय तोकेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट