महोत्तरीमा विद्यालयको खाजामा छेपारोः ८५ विद्यार्थी अस्पताल भर्ना

जनकपुर– महोत्तरीको पिपरा गाउँपालिका–६, रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा दिवा खाजा खाएका करिब ८५ जना बालबालिका विरामी भएर अस्पताल भर्ना गरिए। खाजामा छेपारो परेको हल्ला फैलिएपछि विषय झन गम्भिर बन्यो। यो घटनाले विद्यालय व्यवस्थापन, विद्यार्थीको स्वास्थ्य सुरक्षा र खाजा व्यवस्थापनबारे गम्भीर प्रश्न खडा गरेको छ।
बिहीबार (भदौ १९) दिउँसो विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीलाई दिउँसोको खाजाका रूपमा सुजीको हलुवा वितरण गरेको थियो। त्यही क्रममा एक विद्यार्थीलाई दिइएको प्लेटमा छेपारो देखिएको चर्चा छ। बालकले खाजा खान नमानेर घर फर्केर अभिभावकलाई जानकारी गराएपछि कुरा एकाएक ठूलो भयो।
खाजामा छेपारो परेको समाचार फैलिनासाथ अन्य विद्यार्थीले वाकवाकी र असजिलो महसुस भएको भन्दै आत्तिए। आत्तिएका अभिभावक र विद्यालय व्यवस्थापनले खाजा खाएका सबै विद्यार्थीलाई जनकपुरस्थित प्रादेशिक अस्पताल पु¥याएका थिए।
प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक उज्ज्वल झालगायतको टोलीले विद्यार्थीहरूको स्वास्थ्य परीक्षण ग¥यो। झाले विद्यार्थीमा कुनै स्वास्थ्य समस्या नभएको बताए। ‘विद्यार्थीहरू डराएकाले उनीहरूलाई निगरानीका लागि अस्पतालमा राखिएको हो,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार १७१ विद्यार्थीमध्ये ८५ जना खाजा खाएका थिए। अस्पताल पु¥याइएका सबैको अवस्था सामान्य देखिएपछि धेरैलाई घर पठाइएको छ भने केहीलाई निगरानीका लागि राखिएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रकाश महतोले खाजामा छेपारो देखिएको पुष्टि गर्दै त्यसकै कारण विद्यार्थी आत्तिएको बताए। तर विद्यालयका प्रधानाध्यापक दिनेशकुमार दास भने फरक दाबी गर्छन्। ‘खाजामा कुनै समस्या थिएन, तर केही स्थानीयले अपवाह फैलाएर अनावश्यक त्रास सिर्जना गराइयो,’ प्रधानाध्यापक दासले भने।
सीडीओ नारायणप्रसाद रिसालले पनि हल्लाका कारण विद्यार्थी आत्तिएको उल्लेख गर्दै यथार्थ अनुसन्धानपछि मात्र निष्कर्ष आउने बताए। घटनापछि प्रहरीले खाजाको नमुना संकलन गरी सम्बन्धित निकायमा परीक्षणका लागि पठाएको छ। ‘बच्चाको स्वास्थ्यमा तत्काल समस्या नभए पनि नमुना परीक्षणपछि वास्तविकता प्रष्ट हुनेछ,’ डीएसपी भट्टले बताए।
पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयमा खाजाको गुणस्तरबारे छानबिन गर्ने बताएका छन्। विद्यार्थीको स्वास्थ्यसँग खिलवाड गर्ने कसैलाई पनि उम्कन दिइने उनले चेतावनी दिए।
घटनामा वास्तविक छेपारो परेको थियो वा केवल हल्लाका कारण त्रास फैलिएको थियो भन्ने विषयमा अझै स्पष्ट हुन सकेको छैन। तर, यस घटनाले विद्यालयको खाजा व्यवस्थापन, गुणस्तर नियन्त्रण र विद्यार्थी स्वास्थ्य सुरक्षाबारे गम्भीर प्रश्न उठाएको छ।