सुनसरीमा खोलाले बाईक बगाउँदा श्रीमान वेपत्ता, श्रीमती घाइते

सुनसरी– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित दूधपानी खोलामा आज अचानक बढेको बाढिले मोटरसाईकल बगाउँदा श्रीमान वेपत्ता भएका छन् भने श्रीमती घाईते अवस्थामा फेला परेकी छिन्।
काठमाडौँबाट धनकुटातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकल खोलामा प्रवेश गरेलगत्तै बगेको थियो। मोटरसाईकलमा सवार सर्लाहीको हरिवनका २७ वर्षीय मनिष पञ्चकोटी र उनकी श्रीमती २७ वर्षीया सिलु खड्गी दुवै जनालाई बाढिले बगाएको थियो।
त्यस क्रममा खड्गीलाई घाईते अवस्थामा स्थानीयले उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाएका छन्। श्रीमान भने अझै वेपत्ता छन्। स्थानीयवासी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय चतरा र अस्थायी प्रहरी पोष्ट चतरा पुलको टोलीले मनिषको खोजी गरिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार प्रदेश १ का विभिन्न भागमा सडक र खोला तर्ने क्रममा यस्ता दुर्घटना बारम्बार हुने गरेका छन्। सडक संरचना कमजोर हुनु, खोलामा पुल नहुनु र वर्षायाममा आकस्मिक बाढी आउनु दुर्घटनाका मुख्य कारण मानिन्छ।
स्थानीयवासीले दुधपानी खोलामा वर्षौंदेखि पुलको माग गर्दै आएका भए पनि अझैसम्म स्थायी संरचना बन्न सकेको छैन। यसै कारण वर्षायाममा यात्रु तथा सवारी चालकहरूले ज्यानै जोखिममा पारेर खोला तर्न बाध्य हुने अवस्था दोहोरिँदै आएको छ।