बुबालाई स्नातकोत्तर पास गराउन प्रवेशपत्रमा आफ्नै फोटो टाँसी परीक्षा दिँदै गरेका कांग्रेस नेताका छोरा पक्राउ

वीरगन्ज– वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा आइतबार परीक्षा कक्षमै एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा २५ वर्षीय महमद अफताब छन्।

अफताबले आफ्नै बुवाको प्रवेशपत्र प्रयोग गरी मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा दिइरहेका थिए। त्यसै बेला उनलाई नियन्त्रणमा लिइएको हो।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार अफताबले सिम्बोल नम्बर १५२७०२३ मा दर्ता परीक्षार्थी साहबुद्धिनकै प्रवेशपत्रमा आफ्नो फोटो टाँसी परीक्षा दिन प्रवेश गरेका थिए। गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा वास्तविक परीक्षार्थीको सट्टा उनका छोरा बसेको खुलेपछि तत्काल नियन्त्रणमा लिइएको थियो।

क्याम्पस प्रशासनले अफताबलाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएको र हाल उनलाई वडा प्रहरी कार्यालय वीर्तामा राखिएको पर्साका एसपी गौतम मिश्रले जानकारी दिए।

यस घटनामा अफताब मात्र नभई परीक्षामा आफ्नै नाममा छोरालाई पठाएका क्षेत्रीय सभापति साहबुद्धिनमाथि समेत कारबाही हुने भएको छ। त्रिविको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७०(क) अनुसार उनीहरू दुबैविरुद्ध कारबाही प्रक्रिया अघि बढाइने क्याम्पस प्रमुख यादवले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट