सप्तरीसहित देशभरका २५ कारागारबाट १० हजारभन्दा बढी कैदीवन्दी फरार

काठमाडौँ– जेन–जी आन्दोलनपछि देशभरका कारागारमा विद्रोह भड्किँदा कैदीबन्दी फरार हुने क्रम बढेको छ। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देश जोशीका अनुसार २५ वटा कारागारबाट करिब १० हजार कैदीबन्दी फरार भएका छन्
डडेलधुरा, सप्तरी, सुनसरी, रुकुम पश्चिम, कपिलवस्तु, म्याग्दी, धादिङलगायतका जिल्लाका कारागारबाट ठूलो संख्यामा कैदीबन्दी भागेका हुन्। काठमाडौँको केन्द्रीय कारागार सुन्धारा र ललितपुरको नख्खु कारागारबाट समेत कैदीबन्दी फरार भएको पुष्टि भएको छ। डिल्लीबजार कारागारमा भने आगजनीपछि भाग्न खोजेका कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएर अड्डासार गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भागेका मध्ये सप्तरीबाट ४ जना, सुनसरीबाट २०२ जना, रुकुम पश्चिमबाट ४३ जना, कपिलवस्तुबाट ५० जना र म्याग्दी कारागारबाट ४ जनालाई सेनाको टोलीले नियन्त्रणमा लिएको छ।
कतिपय कैदी आफैं फर्किन थालेको र केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारागारमा बुझाइरहेको विभागले जनाएको छ। काभ्रेको धुलिखेल कारागारमा कैदी र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो। सेनाका अनुसार स्थिति अहिले नियन्त्रणमा आएको छ।