‘गोली हान्न आदेश दिने डीएसपी’ भन्दै कुटिकुटी मारिएका प्रहरी जवानको घरमा आमा र श्रीमतीको विचल्ली

काठमाण्डौँ– दार्चुलाको लेकम गाउँपालिका–३ गुमाखोलीका उत्तम थापा विगत ९ वर्षदेखि प्रहरी सेवामा कार्यरत थिए। उनी प्रहरी जवान हुन। जेनजी आन्दोलनको उग्र रूपले देशभरि त्रास सिर्जना गरिरहेको बेला उनी भने घर फर्किने दिन गन्दै थिए। घर जाने सपना उनले टिकटकमा बाँडिरहेका थिए। तर, नियतिको खेल यस्तो भयो कि चार दिनमै घर पुग्ने आशा बोकेका उनी अब कहिल्यै फर्कने छैनन्।
जेनजी आन्दोलन सुरु हुनुअघि उनले टिकटकमा एक भिडियो पोष्ट गरेका थिए। श्रीमतीसँगको तस्बिर राख्दै उनले लेखेका थिए— ‘अब घर आउन ४ दिन बाँकी।’ त्यसमा पृष्ठभूमिमा ‘झल्को आउँदा यही फोटो हेरी, जोवन धानी बस है मयाले’ भन्ने गीत वजिरहेको थियो।
तर, उनको यो उत्साह सधैँका लागि अधुरो रह्यो। मंगलबार काठमाडौंमा भएको जेनजी आन्दोलनको बीचमा उत्तमको ज्यान गयो। उनीमाथि ‘गोली चलाउने आदेश दिन डीएसपी’ भन्दै आन्दोलनकारी समूहले निर्घात कुटपिट ग¥यो। त्यो घटनाको भिडियो अहिले टिकटक र अन्य सामाजिक सञ्जालमा भाइरल छ। भीडीओ हेर्दै आङ जिरिङ्ङ हुने उक्त घट्नामा संलग्नहरु ‘मान्छे त हुन सक्दैन’ भन्दै कतिपयले राक्षसको उपमा दिईरहेका छन्। निर्दोष प्रहरीलाई निर्ममतापूर्वक कुटेर मारिएको भन्दै आन्दोलनकारीको आलोचना पनि भइरहेको छ।
उत्तमको मृत्युले उनको परिवारमा ठूलो शोकमा छ। उनकी श्रीमती निरन्तर रोइरहेकी छन्। गाउँमा बस्ने आमाले भने तीन वर्षमै श्रीमान र दुई छोराहरू गुमाएकी छन्। उनका बुबाको सुगरका कारण सात–आठ वर्षअघि निधन भएको थियो। सात महिनाअघि घाँस दाउरा गर्न जाँदा उनका भाइ भिरबाट खसेर मरे। मंगलबार आन्दोलनमा कुटपिटबाट उत्तम पनि रहेनन्। वडाध्यक्ष सुरेश थापाका अनुसार, ‘आमाले एकपछि अर्को गरेर सबैलाई गुमाउनु भयो। अब उहाँको स्थिति बिजोग छ।’
उत्तम र उनकी श्रीमती सुस्मिता थापाले करिब सात वर्षअघि विवाह गरेका थिए। तर, उनीहरूले सन्तान पाएका थिएनन्। उत्तम केही वर्ष धनगढीमा खटिएका थिए। त्यहाँबाट करिब चार–पाँच महिनाअघि मात्रै उनको सरुवा काठमाडौंमा भएको थियो। अहिले सुस्मिता एक्लै परेकी छन्। वडाध्यक्ष थापाले भने, ‘उत्तमकै भरमा परिवार चलेको थियो। जग्गाजमिन खासै छैन। अब उनको मृत्युपछि श्रीमती र आमाको भविष्य अन्धकार भएको छ।’
उत्तमकै भरमा चलेको घरमा अहिले अभाव र अनिश्चितता मात्र बाँकी छ। गाउँलेहरू भन्छन्, ‘कुटीकुटी मारिएको भिडियो देख्दा अत्यन्तै पीडा हुन्छ।’ प्रहरीको जिम्मेवारी निभाइरहेका बेला निर्ममतापूर्वक कुटेर ज्यान लिने घटनाले प्रश्न उठाएको छ— के आन्दोलनका नाममा यस्तो निर्दोष हत्या जायज हो? के राज्यसँग आफ्ना सुरक्षाकर्मीको सुरक्षाको ग्यारेन्टी छैन?