२२ वर्षीय युवतीको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय छिमेकी किशोर पक्राउ

दिक्तेल– खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २२ वर्षीया रेस्मिका परियारको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार छिमेकी १६ वर्षीय दिपक सार्की पक्राउ परेका छन्।

अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत परियार भदौ ३० गते कार्यालयबाट घर फर्कने क्रममा बाटोमै हराएकी थिइन्। खोजतलासका क्रममा मार्से सामुदायिक वनभित्र उनको शव फेला परेको थियो।

कार्यवाहक वडाअध्यक्ष सुवास प्रधानका अनुसार, घर नफर्केपछि परिवारले खोजी गर्दा बाटोनेर उनको चप्पल फेला परेको थियो। त्यसपछि खोज्दै जाँदा वनभित्र मृत अवस्थामा भेटिएकी हुन्।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनलाई बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सुशान्त मिश्रले मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा ठूलो आक्रोश र भय फैलिएको छ। गाउँलेले अपराधीलाई कडा कारबाही गर्न माग गरेका छन्।

रबिन परियारसँग प्रेम विवाह गरेर खोटाङमा बस्दै आएकी रेश्मिकाको माइती काठमाडौँमा बस्दै आएका छन्। उनकी करिब ७ वर्षकी एक छोरी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट