नक्खु कारागार आगजनी विवादमा रास्वपा प्रवक्ता मनीष झा, डा. तोसिमा पनि विवादमा

काठमाडौँ — जेन–जी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागार परिसरमा भएको आगजनीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झा विवादमा तानिएका छन्। सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा झाले युवाहरूलाई कारागारमा आगो लगाउन उक्साएको दाबी गरिएको छ।

भिडिओमा युवाहरूको एक समूहले नक्खु कारागारको गेटमा आगो लगाइरहेको देखिन्छ। सो क्रममा निवर्तमान सांसदसमेत रहेका झा हात हल्लाउँदै घटनास्थलबाट हिँडेको देखिन्छ। भिडियो पोस्ट गर्नेहरूले ‘झाले युवाहरूलाई उक्साएर त्यसपछि भागेको’ आरोप लगाएका छन्।

तर, उक्त भिडियोको प्रामाणिकता हालसम्म स्वतन्त्र रूपमा पुष्टि भएको छैन। यस विषयमा बुझ्न झासँग सम्पर्क गर्ने प्रयास सफल भएन। उनको नम्बर ‘कल फरवार्डेड’ देखिएको छ। समाचार तयार पार्दासम्म उनले कुनै प्रतिक्रिया दिएका छैनन्।

यही प्रकरणमा (भदौ २४ गते) रास्वपाका सभापति रवि लामिछाने नक्खु कारागारबाट बाहिर निस्किएका थिए। त्यसबेला उनलाई ‘मौकामा चौका हानेर भागे’ भन्ने आरोप लागेको थियो। झाको भीडीओ सार्वजनिक भएपछि रास्वपाका नेताहरुले आन्दोलनको फाईदा उठाएर सुनियोजित रुपमा रविलाई वाहिर निकालेको आरोप पुष्टि हुँदै गएको छ।

तर, लामिछानेले भिडियो सन्देशमार्फत आफूलाई कारागार प्रशासनले आधिकारिक पत्र थमाएर जवर्जस्ती बाहिर पठाएको दाबी गरेका थिए। पछि उक्त पत्र नै नक्कली भएको आरोप लागेपछि विवाद थप चुलिएको थियो।

विवादपछि रवि लामिछाने पुनः कारागार फर्किइसकेका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका उनी सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि जेलमा छन्। मुद्दाको फैसला भने अझै हुन बाँकी छ। लामिछाने कारागारबाट निस्किएपछि देशभरका कारागारमा विद्रोह भएको थियो। त्यस क्रममा हजारौं कैदीवन्दी भागेका थिए, जसमा अझै १० हजार जती फरार छन्।

तोसिमा कार्कीमाथि पनि आरोप
यसबीच, मनीष झासँगै निवर्तमान सांसद तोसिमा कार्कीमाथि पनि आन्दोलनकारीलाई उक्साएको आरोप लागेको छ। सार्वजनिक भएको भिडियोमा उनलाई संसद भवनको गेटमा उभिएर ‘प्रहरीले केही गर्दैनन्, तिमीहरूले आफ्नो काम गर’ भन्ने आसयको अभिव्यक्ति दिइरहेको देखिन्छ।

यसरी नक्खु कारागार र संसद भवन आगजनी प्रकरणसँगै रास्वपाका नेताहरू विवादमा तानिएका छन्। भिडियोहरूको प्रामाणिकता पुष्टि हुन बाँकी भए पनि आन्दोलनको क्रममा देखिएका यी दृश्यहरूले सुरक्षा व्यवस्थामाथि मात्र होइन, राजनीतिक नेतृत्वको आचरणप्रति पनि प्रश्न उठाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट