जेन–जी आन्दोलनमा कसरी भयो नरसंहार ? यस्तो छ गोली, आगलागी र घुसपैठको रक्तरञ्जित खेल
काठमाडौँ– भदौ २३ गते भ्रष्टाचार विरुद्ध सडकमा निस्किएका स्कुले विद्यार्थी (जेन–जी) लाई ‘ड्याङ की ड्याङ’ गोली हानीयो, १९ जना युवा एकै दिन मारिए। यो घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक राजीनामा दिन बाध्य भए। त्यसपछि त झन अवस्था यस्तो भयानक भयो की, राजधानी काठमाडौँ खरानीको डल्लो जस्तै भयो। यो घट्ना कसरी भयो र कस्ले गरायो ? भन्ने अझै पनि भन्न सक्ने अवस्था छैन।
घट्नाका कारणहरु र पर्दापछाडिका पात्रहरु खुल्दै जालान। तर, आन्दोलनका लागि सीडीओ कार्यालयमा अनुमति लिन गएका पुरुषोत्तम यादवका अनुसार जेन–जी (१३ वर्षदेखि २८ वर्षसम्मको उमेर समूह) को आन्दोलन विशुद्ध भ्रष्टाचार विरुद्धको प्रदर्शन थियो। प्रदर्शनमा २/३ सय विद्यार्थीहरु स्कुल ड्रेसमा उपस्थित हुने तथा ब्यानर, प्ले कार्डलगायतका कुनै पनि सामग्री समेत नहुने जनाएर सीडीओ कार्यालयबाट अनुमति लिईएको थियो।
तर, प्रदर्शन सुरु भएपछि जे देखियो, त्यो आश्चर्यजनक थियो। किनकी मुस्किलले २/३ सय विद्यार्थी भेला हुने अपेक्षा गरिएको प्रदर्शनमा अकल्पनीय दृष्यहरु देखिए। हजारौं हजार मानिसहरु आन्दोलनमा होमिएका थिए। जेनजी अभियान्ता रक्षा बमका अनुसार ११ बजेदेखि माईतीघरबाट एभ्रेष्ट होटलसम्म नाराजुलुस गर्ने कार्यक्रम थियो। तर, मास कन्ट्रोल गर्न नसक्ने अवस्था भएपछि करिव साढे १० बजे नै मार्च सुरु भयो। अग्रभागमा जेनजी युवाहरु थिए, पछाडि हजारौंको भीड थियो।
जुलुस एभ्रेष्ट होटलसम्म पुग्यो। त्यहाँबाट फिर्ता भएर पुनः माईती घरमा नै पुग्नु पर्ने थियो। तर, त्यहाँ पुग्दा राज्यको उपस्थिती एकदमै कमजोर देखियो। रक्षा भन्छिन्–‘राज्यका तर्फबाट जस्तो किसिमको सावधानी अपनाउनु पर्ने थियो, त्यो लेभलको सावधानी अपनाईएको थिएन। जति हाम्रो मास थियो, धेरै कम मात्रामा प्रहरी हुनुहुन्थ्यो। १३ देखि १५ हजारको भीडलाई रोक्न डोरीको प्रयोग भएको थियो। यो प्रिप्लान जस्तो र मासलाई हल्का रुपमा लिएको जस्तो देखिन्छ।’
यो कमजोरीका कारण माईतिघर फर्किनु पर्ने जुलुस अझै अगाडि बानेश्वरतर्फ गयो। प्रहरीले पनि सहजै जान दियो। ‘भीड आउट अफ कन्ट्रोल भयो। त्यसपछि ब्यारिकेट लगाईयो। अश्रुग्याँस र पानीको फोहोरा हानीयो। अश्रुग्याँस सुरु भएको ५ मिनेटपछि गोली चल्न थाल्यो। आँखा अगाडि साथीहरु ढले। भीड अझै उत्तेजित भयो। संसद भवन कब्जा गर्ने लगायतका गतिविधि भए।’– त्यस दिनको घट्ना सम्झँदै रक्षा भन्छिन्।
भोलीपल्ट पनि सुरुवाती आन्दोलन शान्तिपूर्ण नै थियो। आन्दोलन विस्तारै उग्र हुँदै गयो। श्रोतहरुका अनुसार त्यस वेला प्रधानमन्त्री केपी शर्मा ओली सुरक्षा निकायका प्रमुखहरुसहित वालुवाटरमा छलफल गरिरहेका थिए। यो छलफलमा ‘धेरै विद्यार्थीको ज्यान गएको र नेपाली सेनाले बालबालिकामाथि गोली चलाउन नसक्ने भन्दै प्रधानमन्त्री ओलीलाई राजिनामा दिन भनेका थिए। प्रधानमन्त्रीले राजिनामा दिए, अवस्थालाई नियन्त्रणमा लिने नेपाली सेनाका प्रधान सेनापछि अशोकराज सिग्देलले वताएका थिए। ओली भने राजिनामा दिन तयार थिएनन्। उनी पेलेरै जाने मनस्थितीमा थिए। तर, अवस्था यति विग्रिसकेको थियो की बालुवाटारमै आक्रमण सुरु भयो। त्यसपछि ओलीले सिग्देलसँग सुरक्षा मागे। तर, सिग्देलले राजिनामा नदिने भए सेनाले सुरक्षा दिन नसक्ने बताएपछि ओलीले राजिनामा पत्र जिम्मा लगाए। ज्यानकै असुरक्षा भएपछि राष्ट्रपतिलाई बुझाउनु पर्ने राजिनामा सेनाको हातमा दिएर ओली हेलिकप्टरमा वसेर सेनाको शिवपुरी ब्यारेकमा गएको वैठकका सहभागिहरुले बताएका छन्।
गृहमन्त्री रमेश लेखकले यस अघि नै राजिनामा दिईसकेका थिए। जव प्रधानमन्त्रीको राजीनामा आयो आन्दोलनको स्वरूप बदलियो। इमानदार र विशुद्ध देशको अवस्था परिवर्तनको माग राखेर अग्रभागमा रहेका जेनजीहरु कोही मारिए, कोही पछाडि सरे। त्यो स्थानमा अर्को समुह ‘गेन–जी’ (Gain-Z फाईदा लुट्ने समुह) अघि सर्यो।
भ्रष्टाचार विरुद्ध २/३ सय जनाले गर्ने भनिएको प्रदर्शन सार्वजनिक संरचना, राजनीतिक दल तथा तिनका नेता, ब्यापारिक प्रतिष्ठान तोडफोड गर्ने र आगजनी गर्ने कार्यमा वदलियो। ५ पटक प्रधानमन्त्री भईसकेका कांग्रेस सभापति एवम् वेटिङ प्रधानमन्त्री शेरवहादुर देउवा र उनकी श्रीमती, कांग्रेसकी केन्द्रिय सदस्य एवम् निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई घरबाटै घिसार्दै कुटपिट गरियो, प्रहरीलाई कुटेर मारियो, छात्राहरुको होस्टलमा प्रवेश गरी बलात्कार गर्न खोजेको समाचारहरु आए, एउटा समुह पशुपतिनाथको मन्दिर जलाउन पुगेको पनि सुनियो।
व्यापारीक प्रतिष्ठान, होटल र सुपरमार्केट खोजीखोजी आगो लगाईयो, सिंहदरबार, संसद भवन, शितल निवास लगायतमा आगो लगाएर ध्वस्त पारियो। नेताहरु भुमिगत भएर ज्यान बचाए। यो सवै ‘जेनजी विद्यार्थीबाट सम्भव हुने कुरा हो’ भनेर विश्वास गर्न सक्ने अवस्था छैन। प्रदर्शन आह्वान गर्ने र सुरु गर्ने जेनजी अगुवाहरु नै यो सवै घट्नाक्रमबाट स्तब्ध छन्। राति १० बजेदेखि देशमा कर्फ्यु लगाएर सेनाले सुरक्षाको जिम्मेवारी सम्हाल्यो। प्रधानमन्त्रीले राजिनामा दिएर सेना सडकमा आउँदासम्म देश खरानी भईसकेको थियो।
सेना ब्यारेकबाट वाहिर निस्केपछि प्रधान सेनापति सिग्देलले जेजनीलाई वार्ताका लागि आह्वान गरे। तर, आन्दोलनको इजाजत लिने समूहमा रहेका परुषोत्तम, सवल गौतम, मिराज ढुंगाना, गौरव पाण्डे, तनुजा पाण्डे, रक्षा बमलगायत वार्तामा पुग्नै पाएनन्। उनिहरुको स्थानमा ‘हामी नेपाल’ नामको एनजीओका संस्थापक अध्यक्ष सुदन गुरुङ वार्तामा वसे। प्रदर्शनमा पानी बाड्न भन्दै पुगेका उनी आन्दोलनको अगुवा भएर निस्किए। राष्ट्रपतिलाई ‘थुतेर निकाल्ने’सम्म धम्की दिए। सेनाले पनि ३८ वर्षीय गुरुङ्गलाई नै जेनजी लिडरको वैधानिक्ता दियो।
बार्ताकै क्रममा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र उनका कानुनी सल्लाहकार (हालका गृहमन्त्री) ओमप्रकाश अर्यालको रोचक प्रवेश भयो। अर्याल सेना र गुरुङको मिडियटर बनेर पसे भने बालेन्द्रले वार्ताका लागि पहिलो सर्त भन्दै सामाजिक सञ्जालमा ‘संसद विघटन’को माग राखे। भ्रष्टाचार विरुद्ध सुरु भएको प्रदर्शन ‘संसद विघटन’ मा पुग्यो।
गुरुङको समुह वालेन्द्रको मागमा अडिग भयो। त्यसमा सहमति भएपछि अन्तरिम प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई अघि सार्दा ‘हामी नेपाल’ समूह हावी देखियो। अन्य समुहले कुटाई खाए। यो समूहसँग स्वतन्त्र तिब्बत पक्षधर संस्थाबाट रकम लिएको प्रमाण बाहिर आयो। त्यसको केही दिनमै दलाई लामाको बधाइ सन्देश आइपुग्यो। यतिमात्रै होईन, अमेरिकाबाट पैसा ल्याउने बारवरा फाउण्डेशन र विवादित घरानासँगको उनको सम्वन्ध छताछुल्लै भयो।
यो तथ्य बाहिरिएपछि आन्दोलन भूराजनीतिक जोखिमतर्फ मोडिएको त देखिएको छ नै अनुत्तरिक अनेक प्रश्न पनि खडा भएका छन्।
ओलीको बोलिले उठे धेरै सवाल
आन्दोलनका कारण राजीनामा दिएर ज्यान जोगाउन भागेका नेकपा एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार गुण्डुस्थित भाडाको घरमा फर्किएका छन्। उनले आफ्नो राजिनामापछि छानीछानी सार्वजनिक र निजी सम्पत्ति खरानी बनाइएको बताउँदै जेन–जी आन्दोलनका नाममा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको र युवाहरूको ज्यान गएको बताएका छन्।
सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश नदिएको भन्दै उनले प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्ने माग गरेका छन्। ‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ’ उनले भनेका छन्।
गृहमन्त्रीमाथि उठेको प्रश्न
विभिन्न स्रोत र ओलीको भनाई अनुसार सवैभन्दा पहिलो प्रश्न गृहमन्त्री रमेश लेखकमाथि उठेको छ। २३ गते १९ जनाको ज्यान गएपछि लेखकले ‘नैतिकताका आधारमा म पदमा वस्न मिल्दैन’ भन्दै राजिनामा दिएका थिए। तर, राजिनामा प्रधानमन्त्रीलाई वुझाएका थिएनन्। २४ गते ओलीले मन्त्रिपरिषदको वैठक राखेका थिए। त्यहाँ ओलीले सुरक्षा निकायले आफनो जिम्मेवारी पुरा नगरेको भन्दै आक्रोश ब्यक्त गरे। अरु वेला राखिने ब्यारिकेट हटाईएको र प्रदर्शनकारीलाई सहजै निशेधित क्षेत्रमा प्रवेश दिएकोमा उनको आक्रोश थियो।
उनको प्रश्तुती अनुसार ओली घट्नाक्रमका विषयमा अनजान थिए। त्यसै वेला पुगेका लेखकलाई ओलीले घट्नाको व्रिफिङ गर्न आदेश दिए। तर, उनी कुनै पनि कुरा नराखि राजिनामा वुझाएर निस्किएको स्रोत बताउँछ। ‘के यो सवै घट्ना नियोजित र लेखकको जानकारीमै भएको हो ? होईन, भने उनले प्रधानमन्त्रीलाई घट्नाको बारेमा जानकारी दिन किन उचित ठानेनन् र अहिलेसम्म किन चुप छन्।’– यो प्रश्नको उत्तर आउन बाँकी छ।
राष्ट्रिय अनुशन्धान विभागको भूमिका
राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) नेपालको मुख्य गुप्तचर निकाय हो। यो संगठन गृह मन्त्रालय अन्तर्गत रहने गर्छ र देशको आन्तरिक सुरक्षा, रणनीतिक सूचना संकलन तथा विश्लेषण गर्ने जिम्मेवारी यस संस्थाकै काँधमा हुन्छ। मुख्य रूपमा राष्ट्रिय सुरक्षा सम्बन्धी संवेदनशील सूचना संकलन र मूल्यांकन गर्ने, आतङ्कवाद, विद्रोह, विभाजनकारी गतिविधि वा विदेशी चलखेल सम्बन्धी गतिविधिको निगरानी गर्ने, संगठित अपराध, मादक पदार्थ, अवैध हतियार कारोबार, मानव बेचबिखन, आर्थिक अपराध लगायतका विषयमा अनुसन्धान गर्ने, सरकारलाई नीति निर्माण र सुरक्षासम्बन्धी निर्णयमा आवश्यक जानकारी उपलब्ध गराउने जिम्मेवारी यो संस्थाको हो।
तर, यो आन्दोनलका क्रममा एनआईडीको भुमिका प्रभावकारी नदेखिएको मात्रै होईन, शंकास्पद छ। २÷३ सय जम्मा हुने भनिएको आन्दोलनमा दशौं हजार मानिस जम्मा हुने कुरा एनआईडीले कसरी थाहा पाएन ? वा थाहा पाएर पनि सूचना लुकायो वा वेवास्ता गरियो ? तत्कालिन प्रधानमन्त्रीकै भनाई मान्ने हो भने आन्दोलनका क्रममा नेपाल प्रहरीसँग नभएका हतियारको प्रयोग गरिएको छ। कतिपय विश्लेषकहरुले समेत यो कुरालाई समर्थन गरेका छन्। भीडको बीचमा भएका प्रदर्शनकारीको टाउकोमा गोली कसरी लाग्यो? भन्दै उनिहरुले प्रश्न उठाएका छन्। आन्दोलनमा स्नाईपर सुटर/सार्प सुटर)’ प्रोफेसनल सुटरको प्रयोग भएको पनि उनिहरुले चर्चा गरेका छन्। यो आन्दोलनलाई नजिकबाट नियालीरहेकाहरु भन्छन्–‘नेपालमा जस्तै, यस्तै प्रकृतिको आन्दोनल बंगलादेशमा पनि भयो। त्यहाँ स्नाईपर सुटरको प्रयोग भएको कुरा खुलेको छ। तसर्थ नेपालमा पनि अहिलेसम्म देखिएका र खुलेका प्रकरणले यो सम्भावनालाई नकार्न सक्ने अवस्था छैन।’
नेपाल प्रहरीको भूमिकामाथि प्रश्न
नेपाल प्रहरी नेपालको प्रमुख नागरिक सुरक्षा निकाय हो, जसले कानून कार्यान्वयन, अपराध नियन्त्रण, अनुसन्धान तथा सार्वजनिक शान्ति सुरक्षाको जिम्मेवारी बहन गर्छ। मुलुकभर कानूनी व्यवस्था कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने, सार्वजनिक सुरक्षा कायम गर्ने तथा आन्दोलन, प्रदर्शन वा भीड नियन्त्रण गर्ने जिम्मेवारी पाएको प्रहरी कसरी चुक्यो ? ओली र जेनजी अगुवाको भनाई मान्ने हो भने प्रहरीले किन शान्तिसुरक्षा दिन सकेन भन्ने मात्रै होईन, सधैं रहने ब्यारिकेट प्रदर्शनकै दिन किन हटायो ? संसद भवनसम्म प्रदर्शनकारीलाई किन जान दियो ? भन्ने गहन प्रश्नहरु खडा भएका छन्। मोटरसाईकलका डिक्कीबाट १ पत्ता लागु औषध र २० ग्राम खैरो हेरोईन झिक्न सक्ने प्रहरीले सार्प सुटर भित्रिएको कसरी रोक्न सकेन भन्ने अर्को प्रश्न छ।
सशस्त्र प्रहरी कहाँ अलमलियो ?
सशस्त्र प्रहरी बल नेपालको अर्धसैनिक सुरक्षा निकाय हो। यसले आन्तरिक सुरक्षा, सीमा सुरक्षा, दंगा नियन्त्रण, आतङ्कवाद र विद्रोह विरुद्धको अभियानमा काम गर्छ। विद्रोह, दंगा वा ठूलो अशान्ति नियन्त्रण गर्ने, सीमा सुरक्ष तथा अवैध ओसारपसार रोक्ने, आतंकवादी वा संगठित आपराधिक गतिविधि रोक्ने, राजकीय संरचना, राजदूतावास, महत्वपूर्ण परियोजना आदिको सुरक्षा गर्ने जिम्मेवारी पाएको यो निकाय पनि जेनजी आन्दोलनका क्रममा नेपाल प्रहरीसँगै थियो। तर, दुवै सुरक्षा संयन्त्र रक्षात्मक देखिए।
नेपाली सेना: किन माग्यो प्रधानमन्त्रीको राजिनामा ?
नेपाली सेना नेपालको राष्ट्रिय सुरक्षा निकाय हो, जसले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा गर्ने प्रमुख जिम्मेवारी लिएको छ। राष्ट्रिय सुरक्षा मुलुकको सीमा, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता जोगाउने, विद्रोह, आतंकवाद वा ठूलो संकटको बेला आन्तरिक सुरक्षामा सहयोग गर्ने जिम्मेवारी सेनामा छ। २४ गते बिहानसम्म आन्दोलन तुलनात्मक रूपमा शान्त थियो। तर, प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै देशको जिम्मा सेनाको हातमा गयो। त्यसै बेलादेखि राज्यका महत्वपूर्ण संरचनामा आगलागी सुरु भयो। यहाँसम्म कि सेनाले आफ्नै परमाधिपतिको वासस्थान शीतल निवासमा आगो झोस्दा समेत प्रतिवाद गरने। यसले सेनाको क्षमतामाथि मात्र नभई त्यसको नीयतबारे पनि प्रश्न उठाएको छ।
जेन–जी आन्दोलन भ्रष्टाचारविरुद्धको शान्तिपूर्ण विद्यार्थी आन्दोलन थियो कि नियोजित हिंसात्मक षड्यन्त्र ? सुरक्षासंयन्त्रका कमजोरी, राजनीतिक हस्तक्षेप, विदेशी चलखेल र रहस्यमय घुसपैठका प्रश्न अझै खुल्न बाँकी छन्। यति गम्भिर प्रश्नहरु उठिरहँदा समेत मुलुकका चारै सुरक्षा संयन्त्र चुपचाप छन्। आधिकारिक प्रतिक्रिया आएको छैन।
