सीडीओसँग मुख लागेपछि ०४३ सालमा ७ दिन थुनिएका थिए महावीर पुन, सीडीओको रिसले जागिरै छोडे

काठमाडौँ– भदौ २३ र २४ को हिंसात्मक जेन–जी आन्दोलनपछि वैज्ञानिकका रुपमा नाम कमाएका महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन्।

म्याग्दीको दुर्गम गाउँमा जन्मेका पुनले चितवनमा शिक्षण पेशामै १३ वर्ष विताएका थिए। २०४३ सालको एसएलसी परिक्षामा सीडीओसँग तनाव भएपछि उनले शिक्षण पेशा त्यागेका हुन। परीक्षा चलिरहेको बेला उनी थप उत्तरपुस्तिका पु¥याउने जिम्मामा थिए। त्यही बेला चितवनका तत्कालीन सीडीओ परीक्षा हलमा छिरेर शिक्षकलाई थर्काउँदै भने, ‘चिट चोरेको देखेँ भने तँलाई नै कारबाही गर्छु।’

पञ्चायत कालमा सीडीओसँग कस्ले मुख लाग्ने ? सामान्यतया कोही बोल्दैनथे। तर महावीर चुप लागेर वस्न सकेनन्। उनले सीडीओलाई प्रश्न गर्दै भने, ‘विद्यार्थीको अगाडि किन शिक्षकलाई हप्काउनुहुन्छ? गल्ती भए कारबाही गर्नुहोस्, तर यसरी अपमान गर्न पाइँदैन।’

यो कुरा सुनेपछि सीडीओ क्रोधित भए। केही दिनमै उनले प्रहरीमार्फत महावीरलाई पक्राउ गराएर भरतपुरको प्रहरी चौकीमा थुनाइदिए। उडुसले भरिएको कोठामा १२ जना बन्दीसँगै महावीरले ७ दिन बिताए।

प्रहरीबाट मुक्त भएपछि महावीर सिधै सीडीओ कार्यालय पुगे र सोधे, ‘मलाई किन थुन्नुभयो?’ जवाफ दिनुको सट्टा सीडीओले आदेश दिए, ‘चुप लागेर स्कुल जा, राम्रोसँग पढा।’ तर महावीर चुप लागेनन्। उनले भने, ‘सीडीओ हुँदैमा बिनाकारण थुन्न पाइन्छ? तपाईको जागिर खान्न।’

त्यसपछि उनले शिक्षक पदबाट राजीनामा दिए। यही घटना महावीर पुनको जीवनको ठूलो मोड बन्यो। जागिर छोडेर काठमाडौं पुगेका उनी अमेरिकासम्म पुगे, पढे र पछि नेपाल फर्किए। त्यसपछि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर देशको शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ बाटो खोल्ने यात्रा सुरु भयो।

‘त्यो रिसको झोँकले मेरो जीवनमा सोच्दै नसोचेको परिवर्तन ल्याइदियो। यदि त्यो बेला नथुनिएको भए म पक्कै स्कुलको नोकरी छोड्ने थिइनँ, अमेरिका जाने अवसर पाउने थिइनँ।’ उनले भनेका छन्।

महावीर २०११ मा म्याग्दीको नांगी भन्ने गाउँमा जन्मिएका हुन्, जो अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ। उनका बुबा कृष्ण पुन र आमा पूर्वी पुन। बुबा ब्रिटिस सेनामा थिए। १५ वर्ष मलेसियामा सेवा गरे। महावीर जन्मिँदा उनका बुबा मलेसियाको जंगलमा खटिएका थिए।

महावीरले बाल्यकाल बाजेसँग भेडागोठमा विताए। महावीरलाई गाउँमा ‘भेडागोठालेको नाति’ भनेर चिनिन्थ्यो। महावीरले ८ कक्षासम्म गाउँमा र ९ कक्षापछि एसएलसीसम्म चितवनमा पढे। एसएलसीपछि काठमाडौंको अमृत साइन्स कलेजमा आईएस्सी र इन्जिनियर पढ्न छात्रवृत्ति नपाउँदा बीएस्सीमा भर्ना भएनन्। काठमाडौंबाट चितवन फर्किएर २०३० मा अस्थायी शिक्षकमा नियुक्त भए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट