वीरगञ्जमा ‘ह्वाट्सएप ग्रुप’ द्वारा युवकको हत्याः ‘खुनी दरिन्दे समुह’ का ५ जना सदस्य पक्राउ
वीरगञ्ज — पर्साको वीरगञ्जमा आयोजित दशैंको रमाइलो मेलामा अष्टमीको दिन राति युवाबीचको पुरानो रिसइबी प्राणघातक ‘ग्याङ हत्याकाण्ड’मा परिणत भयो। ग्याङ फाईटमा बाराको परवानीपुर गाउँपालिका–९ का २० वर्षीय शिवम कुमार साह कानु (गोल्डेन) को हत्या भयो।
प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार उक्त हत्या ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सएप ग्रुपका सदस्यले गरेको तथ्य वाहिर आएको छ। पर्साका एसपी सुदीपराज पाठकले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘यो आकस्मिक झगडा नभई योजनाबद्ध प्रतिशोध’ भएको बताएका छन्।
पाठकका अनुसार ‘खुनी दरिन्दे समूह’ नामक ग्याङले पहिलेको विवादलाई आधार बनाएर आक्रमण गरेको देखिन्छ। वीरगन्ज–१० मा बस्दै आएका गोल्डेनलाई मंगलबार राति दशैं मेला घुम्ने क्रममा गीतामन्दिर रोडमा करिब साढे ११ बजे ग्याङले घेराबन्दी गरेको थियो। त्यसपछि बाँसको भाटा र मुक्काले प्रहार गरी घाईते बनाईएको थियो।
घाइते गोल्डेनलाई तत्काल नारायणी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। वीरगन्ज–२४, रामगढवाका १९ वर्षीय गौतम पटेल, २० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय करण प्रसाद पटेल (अमीरी), २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा पक्राउ परेका छन्।
तीन जनालाई घटनाको राति नै नियन्त्रणमा लिइएको थियो भने बाँकी दुई जनालाई नेपालबाट भागेर भारतको पश्चिमी चम्पारणस्थित बल्थर गाउँमा लुकेकोको अवस्थामा बुधबार पक्राउ गरिएको हो। घटना भएको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट इन्स्पेक्टर निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
टोलीले २४ घण्टाभित्रै मुख्य आरोपितलाई पक्राउ गर्न सफल भएको दाबी एसपी पाठकले गरेका छन्। उनका अनुसार थप संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र खोजी कार्य जारी छ।
दशैं मेलाको भीडमा देखिएको यस्तो ग्याङ हिंसाले वीरगन्जमा त्रास फैलाएको छ। प्रहरीले सामाजिक सञ्जालमार्फत बनेका समूहहरूले आपसी झगडा, रिसइबी र ग्याङ गतिविधिलाई मेला–उत्सव जस्ता सार्वजनिक अवसरमा हिंसामा बदलिरहेको भन्दै अभिभावक र स्थानीयलाई सचेत रहन आग्रह गरेको छ।

