ज्योतिषीको गलत भविष्यवाणीले वाढि–पहिरोमा क्षती बढायोः मन्त्री घिसिङको आपत्ति

काठमाडौँ— मौसमसम्बन्धी गलत भविष्यवाणीका कारण चर्चित ज्योतिष तथा कलाकार हरिहर अधिकारी विवादको केन्द्र बनेका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले समेत अप्रत्यक्ष रूपमा अधिकारीकै भनाइले सरकारी सतर्कता कमजोर पार्न र क्षति बढाउन सहयोग पुगेको टिप्पणी गरेपछि विषय अझ चर्किएको छ।

मौसम पूर्वानुमान महाशाखाले असोज १७ देखि तीन दिनसम्म देशका विभिन्न भागमा भारी र अतिभारी वर्षा हुने चेतावनी जारी गरेको थियो। तर, अधिकारीले आफ्नै सामाजिक सञ्जालमार्फत् ‘ठूलो वर्षा नहुने र क्षति नदेखिने’ भन्दै सर्वसाधारणलाई ढुक्क रहन आग्रह गरेका थिए। उनले लेखेका थिए, ‘मौसम विभागले दिएको सूचना गलत हो, सामान्य वर्षा मात्रै हुनेछ।’

तर १७ गतेपछि देशभर निरन्तर परेको अविरल वर्षाले दर्जनौँ जिल्लामा बाढी–पहिरोको विनाश मच्चाएको छ। पछिल्लो विवरणअनुसार ४० भन्दा बढीको मृत्यु, दर्जनौं बेपत्ता र सयौँ घाइते भएका छन्। राजमार्ग अवरुद्ध छन् र विद्युत्, सञ्चार र यातायातसमेत प्रभावित बनेका छन्।

यही पृष्ठभूमिमा मन्त्री घिसिङले पत्रकार सम्मेलनमा भने, ‘सरकारले चेतावनी दिएपछि केही ज्योतिषले त्यसलाई गलत भन्दै प्रचार गरे, जसका कारण नागरिकले सावधानी अपनाएनन् र क्षति बढ्यो।’ उनले नाम नखुले पनि संकेत स्पष्ट रूपमा हरिहर अधिकारीतर्फ देखिएको बुझिन्छ।

सामाजिक सञ्जालमा अधिकारीमाथि गाली, व्यङ्ग्य र ट्रोलको वर्षा भइरहेको छ। आफूले गरेको दाबी गलत साबित भएपछि उनले शनिबार बिहान माफी माग्दै फेसबुकमा लेखे, ‘मौसमसम्बन्धी हिजो लेखिएको कुराप्रति क्षमाप्रार्थी छु। सबै जना आ–आफ्नो स्थानमा सुरक्षित रहनुहोस्।’

यो पहिलोपटक होइन, अधिकारी यसअघि पनि अविश्वसनीय दाबीका कारण विवादमा परेका थिए। २०७९ साउनमा पडकास्टर सञ्जय गुप्तासँगको अन्तर्वार्तामा उनले अमेरिकी अन्तरिक्ष संस्था नासामा ‘संस्कृत भाषाको माध्यमबाट अन्तरिक्षमा सम्पर्क गर्न सकिने’ र ‘दुई वर्षे संस्कृत क्याप्सुल कोर्स चल्दैछ’ भन्ने अभिव्यक्ति दिएका थिए। ती दाबीहरू पूर्णतः तथ्यहीन ठहरिएपछि उनी सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट तीव्र ट्रोलिङको सिकार बनेका थिए।

कलाकारका रूपमा समेत सक्रिय अधिकारीले निर्माण गरेको चलचित्र ‘ह्रस्वदीर्घ’ पनि भविष्यवाणीकै आधारमा प्रदर्शन मिति तोकेर रिलिज गरिएको थियो। उनले त्यतिबेला भनेका थिए, ‘साइत हेरेर मिति तय गरेका छौँ, राम्रो प्रतिक्रिया आउनेछ।’ तर चलचित्र प्रदर्शन भएको एक सातासम्म पनि हलमा टिक्न सकेन। ६ करोडको लगानीमध्ये आधा रकम पनि उठेन। समीक्षकहरूले फिल्मलाई ‘दक्षिण भारतीय फिल्मको नक्कल’ भन्दै ठाडो आलोचना गरेका थिए।

यसरी एकपछि अर्को गलत भविष्यवाणी र असफल दाबीहरूले हरिहर अधिकारीको विश्वसनीयता गुमाउँदै लगेको छ। मौसम पूर्वानुमान जस्तो संवेदनशील विषयमा गलत अभिव्यक्ति सार्वजनिक गर्दा जनसुरक्षासँग सरोकार राख्ने निकायले पनि चासो देखाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट