इलाममा बाढी र पहिरोका तुफानी रातः भाग्ने मौका पनि नपाई ३७ जनाले ज्यान गुमाए, पहिरोमा परिवारै स्वाहा

विराटनगर — अविरल वर्षासँगै आएको पहिरोले इलामलाई रातारात मृत्युको उपत्यकामा रूपान्तरण गरेको छ। शुक्रबार रातिदेखि लगातार परेको भारी वर्षाले विभिन्न गाउँ बगाउँदा ३७ जनाको ज्यान गएको पुष्टि भएको छ। दर्जनौँ बेपत्ता छन्, सयौँ घर ध्वस्त भएका छन्। देशभरका तीन प्रदेश (कोशी, बागमती र मधेश) बाढी–पहिरोको प्रत्यक्ष चपेटामा छन्।
भारी वर्षा अहिले केही रोकिए पनि जोखिम अझै टरेको छैन। धेरै ठाउँमा जमिन खुकुलो र पहिरो खस्ने सम्भावना अझै उच्च रहेको अधिकारीहरूले जनाएका छन्। इलाममा भने पहिरोले एकपछि अर्को गाउँ पुरिँदा मानविय क्षती धेरै भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका एसपी एकनारायण कोइरालाका अनुसार, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम, सन्दकपुर र माङसेबुङ क्षेत्र सबैभन्दा बढी प्रभावित छन्। ‘रातको समयमा ठूलो आवाजसँगै पहिरो बग्यो, धेरै घर परिवार पुरिए,’ उनले भने, ‘बाँच्ने प्रयासका लागि समय नै पाउन सकेनन्।’
मृतकहरूमा साना बालबालिकादेखि ८० वर्षसम्मका वृद्धवृद्धासम्म छन्। माईजोगमाई–६ का किरण थेवेका परिवारका पाँच सदस्य एकैसाथ पुरिए। देउमाईमा लिम्बू र राई समुदायका घरहरू पहिरोले वेपत्ता पार्यो। सन्दकपुरका भीमबहादुर राई परिवारका पाँच जनाको शव एउटै स्थानबाट निकालिएको छ।
इलामका साथै झापा, मोरङ, पाँचथर, उदयपुर, खोटाङ र धनकुटा पनि बाढी–पहिरोको चपेटामा परेका छन्। कोशी प्रदेशमा मात्रै ४९ जनाको मृत्यु भइसकेको छ। देशभर मृत्यु हुनेको संख्या ५२ पुगेको प्रहरीले जनाएको छ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। झापामा मात्रै ५ हजार ४२५ घरपरिवार सुरक्षित ठाउँतर्फ सारिएका छन्। मोरङमा ३८६, सुनसरीमा ४५, धनकुटा, उदयपुर र खोटाङमा केही दर्जन घरहरू विस्थापित भएका छन्।
प्रहरी र सेनाको टोलीले आज बिहानदेखि नै उद्धार र खोजी कार्य जारी राखेका छन्। सडक भासिएका कारण धेरै ठाउँमा उद्धार कार्य ढिलो भएको छ। केही घाइतेलाई हेलिकप्टरमार्फत धरान र बिराटनगर पठाइएको छ।
विद्युत्, सञ्चार र यातायात अवरुद्ध हुँदा प्रभावित गाउँहरू बाहिरी सम्पर्कविहीन बनेका छन्। राति निद्रामा रहेका परिवारहरू पहिरोमा पुरिँदा क्षति अत्यधिक भएको बताइन्छ। प्रहरीका अनुसार, बाढी र पहिरोमा परेर पाँचथरमा २, उदयपुरमा २, खोटाङमा २, मोरङ र झापामा पनि मानविय क्षती भएको छ।
अब वर्षा रोकिए पनि पहिरोको भय अझै उस्तै छ। पहाडका सडक र नदीकिनारमा घर भएका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।