झापामा आन्दोलनमा लुटिएका ८५ मध्ये एउटा राइफल भेटियो, बाँकी हतियार दुरुपयोग हुने जोखिम कायमै

दमक– भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा झापामा प्रहरी कार्यालयहरूमा भएको अराजक आक्रमणपछि लुटिएका हतियार अहिले पनि सुरक्षाका लागि गम्भीर चुनौती बनेका छन्। आन्दोलनको नाममा दमक र बिर्तामोडका प्रहरी भवनमा आगजनी, तोडफोड र हतियार लुटपाट भएको करिब तीन सातापछि आइतबार पहिलोपटक एउटा राइफल फेला परेको छ।
दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिर नजिक आइतबार बिहान करिव साढे ७ बजे स्थानीयले देखेको ३०३ मार्क–३ राइफल इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। प्रारम्भिक जाँच अनुसार उक्त राइफल आन्दोलनका क्रममा भदौ २४ गते प्रहरी कार्यालय दमकबाट लुटिएको थियो।
झापा प्रहरीले दिएको विवरणअनुसार, आन्दोलनमा जिल्लाभरबाट ८५ थान हतियार लुटिएका थिए। त्यसमा लामो र छोटो दुवै किसिमका राइफल, पेस्तोल, रिभल्वर, सर्टगन र ग्यासगन समावेश छन्। हालसम्म २३ थान हतियार, ५ हजार ६ सयभन्दा बढी गोली, र १८० सेल अश्रुग्यास अझै बेपत्ता छन्।
गत शनिबार मात्रै कमल गाउँपालिका–७ रंगपुरस्थित केराबारीमा ५५ राउण्ड एसएलआर गोली स्थानीय किसानले केराको पात काट्ने क्रममा फेला पारेका थिए। तर यस्ता ‘अकस्मिक’ बरामदबाहेक अधिकांश लुटिएका हतियार अझै खोजीकै क्रममा छन्।
प्रहरी अधिकारीहरूको भनाइमा, लुटिएका हतियारहरू अपराध र हिंसात्मक गतिविधिमा दुरुपयोग हुने जोखिम अत्यन्त उच्च छ। इलाका प्रहरी कार्यालय दमकका एक अधिकारीले नाम नखुलाउने सर्तमा भने, ‘हामीले आशंका गरेका छौं कि केही हतियारहरू सीमावर्ती क्षेत्र हुँदै माओवादी समूहका पूर्व सदस्य वा अराजक तत्वहरूको हातमा पुगेका छन्। ती पुनःप्रयोग भए ठूलो मानवीय क्षति निम्त्याउन सक्छ।’
लामो र छोटो दुवै प्रकारका हतियार फेला नपर्दा प्रहरी चौकीहरूले नियमित गस्तीमा समेत सचेतता बढाएका छन्। झापा प्रहरीले हतियार पुनःप्रयोग रोक्नका लागि तीन तहको रणनीति लागू गरेको छ। पहिलो तहमा प्रदेश प्रहरी कार्यालयको सहकार्यमा ballistic tracking प्रणालीमार्फत गोली र राइफलको सिरियल नम्बर मिलान कार्य सुरु गरिएको छ।
अर्कोतर्फ, टोल विकास समितिहरू र आमा समूहहरूसँगको बैठकमा ‘लुकाइएका हतियार वा बारुदबारे जानकारी दिन गोप्य माध्यम’ सञ्चालन गरिएको छ। विशेष गरी इन्स्पेक्टर नवीन राईको नेतृत्वमा ‘लुटिएका हतियार खोजी विशेष टास्क फोर्स’ परिचालित छ।
प्रहरी स्रोतका अनुसार, टोलीले हालसम्म १८ वटा सम्भावित स्थान र तीन जना संलग्न व्यक्तिको पहिचान गरिसकेको छ। आन्दोलनका समयमा आगजनी र तोडफोड भएका दमक र बिर्तामोडका प्रहरी कार्यालयहरू पुनर्निर्माण हुँदैछन्।
दमक प्रहरीले security reinforcement plan अन्तर्गत भौतिक सुरक्षा सुदृढीकरणका लागि नयाँ Perimeter wall/CCTV network जडान कार्य सुरु गरेको छ। प्रहरी स्रोतका अनुसार, जिल्लाभरका प्रहरी चौकीहरूलाई हाल ‘सतर्क’ राखिएको छ। त्यसअनुसार रात्री गस्ती, सीमाक्षेत्र निगरानी र मोवाईल पेट्रोल युनिट सक्रिय गरिएको छ।
झापा प्रहरीका लागि एउटा राइफल फेला पर्नु सफलताको विषय होईन, फेला पर्न बाँकी हतियार दुरुपयोग हुने र त्यसले ल्याउन सक्ने संकट चुनौती बनउको छ। यो आन्दोलनपश्चात् राज्य र समुदायबीच बनेको अविश्वासको गहिरो संकेत पनि हो। स्थानीयवासीले अझै पनि प्रहरी संरचनामाथि विश्वास र भरोसा गर्न सकिरहेको अवस्था छैन।
‘आन्दोलनपछि प्रहरी पनि डराएको छ, जनता पनि। तर हतियार त गाउँमै लुकेका छन्, त्यो सबैलाई थाहा छ।’ एक सर्वसाधारणले भने–‘अव त्यसलाई प्रहरी कार्यालयसम्म पुर्याउनु छ।’ उनका अनुसार जेनजी आन्दोलनपश्चात् झापा प्रहरीको प्राथमिकता अब केवल हतियार फेला पार्नु मात्र होइन, ती हतियार पुनःप्रयोग हुन नदिन सामाजिक र प्राविधिक दुवै स्तरमा नियन्त्रण प्रणाली बलियो बनाउनु पनि हो।
तर जबसम्म सबै हतियार फेला पर्दैनन् र दोषीहरू कारबाहीमा आउँदैनन्, तबसम्म झापामा सुरक्षा संकटको छाया हट्ने सम्भावना कमजोर नै देखिन्छ।