सिरहाको दलित बस्तीमा तोडफोड र लुटपाटपछिको त्रासः प्रहरी-प्रशासनको उपस्थितिमा पनि छैन सुरक्षाको आश

लहान— सिरहाको कल्याणपुर नगरपालिका–८ अरङ गाउँस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्ने दलित समुदायका पाँच परिवार शुक्रवार दिउँसोदेखि घरबारविहिन भएका छन्। करिब २०–२५ जनाको समूहले गाउँमा तोडफोड र लुटपाट मच्चाएपछि उनीहरुको विचल्ली भएको छ। घटना पछि लगातार परेको वर्षामा ओत नपाउँदा पीडित परिवार अझ बढी संकटमा परेका छन्।

पीडित ७३ वर्षीय बिन्दे पासमानले भने, ‘घामपानी छेक्ने झुपडीसमेत भत्काएर लुटपाट गरे। दुई दिनको वर्षामा टाउको छोप्ने ठाउँ समेत पाएनौं। अन्नपात र भाँडावर्तन लुटेर लगेपछि एक छाक पेट भर्नसमेत मुस्किल भइरहेको छ।’ यस घटनामा पाँच परिवारका करीब तीस जना प्रभावित भएको बताइएको छ।

गत असोज १ गते विश्वकर्मा पूजाको दिन गाउँमा आर्केष्ट्रा ल्याइएको थियो। सोही अवसरमा प्रभास सिंह र उनका समर्थकहरूले मदिरा सेवन पछि स्थानीय दलित युवासँग सामान्य विवाद गरेका थिए। विवाद बढ्दै गएपछि प्रभासले दलित बस्ती उठाइदिने धम्की दिएका थिए। पीडितहरूले असोज ३ मा कल्याणपुरको इलाका प्रहरी कार्यालय, मिर्चैयामा शान्ति–सुरक्षाको माग गर्दै निवेदन दिएका थिए। तर समयमै छलफल नभएपछि असोज २१ गते फेरि समय तोकिएको थियो।

शुक्रवार दिउँसो करिब २ बजेतिर प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, राजकुमार सिंह, मुस्तफा राइन, रामनारायण सिंह, लक्ष्मी सिंह लगायत २०–२५ जनाको समूहले घर तोडफोड गर्नुका साथै घरमा रहेका सामान, सुनचाँदी, नगद, अन्नपात, फर्निचर लुटेर लगे। अशोक पासवानको घरबाट चारआना सुन र ३० तोला चाँदीका गहना, राजकुमारको घरबाट धानचामल, रासलालको घरबाट दालचामल, चारआना सुन, १० तोला चाँदी र १८ हजार नगद, बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुईआना सुन र ३ हजार नगद लुटिएको छ। प्रहरीको रेकर्ड अनुसार प्रभास ज्यान मार्ने उद्योग, चन्द्रदीप र लक्ष्मी अनुचित लेनदेन मुद्दाका फरार प्रतिवादी हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले वडाध्यक्ष रामकिशोर यादवले भिडलाई उक्साउने काम गरेको खुलेको छ। यादवलाई शनिबार नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर सोधपुछ भइरहेको छ। उनी स्वयं तोडफोडमा उपस्थित नभए पनि भिडलाई उक्साएको प्रमाण भेटिएको छ।

घटनापछि सिरहाका सीडीओ वसन्त अधिकारी, एसपी अनन्तराम शर्मा र नगरपालिकाको टोली घटनास्थल पुगेको थियो। पीडित परिवारलाई अस्थायी राहत स्वरूप कम्बल, झुल र त्रिपाल उपलब्ध गराइयो। तर, भत्किएका घरमा बस्न बाध्य परिवार अझै असुरक्षित छन्। सञ्जुदेवी पासमानले भनिन्, ‘न बस्ने ठाउँ छ, न पकाउने ठाउँ। साना बालबच्चा छन्, रातमा एक जना जागा बस्न बाध्य छौं।’

बिन्दे पासमानले दीर्घकालीन समाधानको माग गरेका छन्। ‘हामी गरिब हौं, आफैंले घर बनाउन सक्ने सामथ्र्य छैन। यस्तो अवस्थामा धेरै दिन बस्न गाह्रो छ।’– उनले भने। घटनास्थलमा आएका सामाजिक अभियन्ता मनोजकुमार पासवानले राज्यका निकायको कमजोर पहलका कारण यस्तो घटना दोहोरिरहेको बताएका छन्। ‘यदि दोषीलाई कारबाही नगर्ने हो भने हामी सशक्त प्रतिवादमा उत्रनेछौं।’– उनले चेतावनी दिए।

दलित समुदायमाथि भएको यो घट्ना असमानता र सुरक्षा अभावको स्पष्ट उदाहरण हो। प्रहरी र प्रशासनको उपस्थितिमा भएको तोडफोड र लुटपाटले राज्यका निकायको कमजोरी उजागर गरेको छ। पीडित परिवारले तत्काल सामान्य राहत पाए उनीहरूको दीर्घकालीन बसोबास र सुरक्षा सुनिश्चित गर्न अझै ठोस पहल आवश्यक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट