सुन–चाँदीका गहना लुट्न १० वर्षीया एन्जल देउवाको निर्मम हत्या, आरोपी पक्राउ

काठमाडौँ– बर्दियामा १० वर्षीया एन्जल (भारती) देउवाको हत्या प्रकरणमा प्रहरीले २१ वर्षीय समिर सुनारलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, बालिकाको कानमा लगाइएको दुई आना सुनको मुन्द्री र घाँटीमा रहेको दुई तोलाको चाँदीको सिक्री लुट्ने उद्देश्यले समिरले एन्जलको हत्या गरेको खुलेको छ।

एन्जल बुटवलको प्रभात इङ्लिस बोर्डिङ स्कूलमा कक्षा ४ मा अध्ययनरत थिइन् र सानीआमा पवित्रा पौडेलसँग बस्दै आएकी थिइन्। दसैंको अवसरमा असोज १६ गते उनी झबहीस्थित आफ्नै घर आएकी थिइन्। असोज १७ गते दिउँसो गणेशपुरस्थित ठूली आमाको घरमा बिहेमा सहभागी भई त्यहाँबाट मामाघरतर्फ कपडा लिन साइकल चढेर जाँदै थिइन्।

असोज १७ गते दिउँसो, बुढीखोलामा माछा मार्न गएका समिर सुनारले साइकलमा एक्लै आइरहेकी एन्जललाई देखे। बालिकाको कानमा सुनको मुन्द्री र घाँटीमा चाँदीको सिक्री लुट्ने उद्देश्यले उनले धम्की दिँदै जवर्जस्ती गर्न थाले। एन्जलले चिच्याउँदै प्रहरी बताउने चेतावनी दिइन्, तर आरोपीले हत्केलाले मुख थुनेर घाँटी अठ्याउँदा उनको ज्यान गयो।

हत्या पछि समिरले साइकल मूलपानी गुडिखोलामा र चप्पल झाडीमा फाले। एञ्जलको लास पनि नजिकै गेरूवा–५ मूलपानी गुडिखोला किनारमा बालुवामा गाडी दिएका थिए। लुटेको सुन र चाँदी बर्दियाका विभिन्न पसलमा बेच्ने प्रयास गरे। तर बिल नभएका कारण बिक्री हुन सकेन। प्रारम्भिक अनुसन्धानमा खुले अनुसार आरोपी भारत जाने तयारीमा थिए तर मोवाईलमा रिचार्ज गर्ने समेत पैसा नहुँदा सासूसँग मोबाइल रिचार्ज गर्नका लागि १ सय रुपैयाँ लिएका थिए।

इलाका प्रहरी कार्यालय शान्ति बजारका इन्स्पेक्टर मदन गुरूङले प्रारम्भिक अनुसन्धानमा समिरले हत्या स्वीकारेको बताए। इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी कबिन्द्रसिंह बोहराले पनि कानका गहना लुट्नकै लागि हत्या भएको पुष्टि गरे। प्रहरी अनुसन्धानमा हाल चार जनामाथि सोधपुछ भइरहेको छ।

असोज १८ गते दिउँसो मूलपानी गुडिखोलाको किनारमा हल्का पुरिएको अवस्थामा एन्जलको शव फेला परेको थियो। स्थानीय र प्रहरीको सहकार्यमा आसपासको झाडी सफा गर्दा एन्जलको साइकल र चप्पल पनि भेटिएको थियो। शव पोस्टमर्टमका लागि बाँकेको नेपालगञ्ज पठाउने तयारी भइरहेको छ।

एन्जलका बुवा प्रकाश देउवा र आमा देउमा भारतमा काम गर्थे। दसैंको दिन उनीहरू कैलालीस्थित पुख्र्यौली घरमा गएका थिए। एन्जल बुटवलबाट झबही घर आएर दसैं मनाउँदै थिइन्। बुवा प्रकाशले राति सवा ९ बजे प्रहरीलाई सम्पर्क गरी छोरी बेपत्ता भएको जानकारी दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट