ओलीको चेतावनीः गृहमन्त्री बाबु धेरै नचम्किनू, राजनीति खेल होइन

काठमाडौँ— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गृहमन्त्रीमाथि व्यङ्ग्य गर्दै धेरै नचम्किन चेतावनी दिएका छन्। ‘गृहमन्त्री बाबुले धेरै नचम्किनु, राजनीति खेल होइन’ भन्दै उनले मन्त्री ओमप्रकाश अर्याललाई ब्यंग्य गरेका छन्।
भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार र यसको गठन प्रक्रियामाथि तीव्र आलोचना गरे। उनले भने, ‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ। उहाँहरू धेरै नउत्ताउलिन, नचम्किन म सल्लाह दिन चाहन्छु। राजनीति र देश चलाउने कुरा ख्याल–ठट्टा होइन, बुझेर चल्नुपर्छ।’
ओलीले जेनजी आन्दोलनमा भएको सरकारी दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार्य हुने घोषणा गर्दै सरकारले ‘पूर्वाग्रही र नक्कली नाटक’ मञ्चन गरेको आरोप पनि लगाए।
उनका अनुसार, ‘पहिले नै केपी ओलीलाई समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेले नेतृत्व गरेको आयोग निष्पक्ष हुनै सक्दैन।’ उनले गौरीबहादुर कार्कीले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई उद्धृत गर्दै भने, ‘त्यस्तो मान्छेले आयोगको नेतृत्व गर्दा परिणाम स्वतः पूर्वनिर्धारित हुन्छ।’
एमाले अध्यक्षले उक्त आयोग र त्यसको प्रतिवेदनलाई ‘राजनीतिक बदला लिने औजार’ भन्दै प्रतिवेदन कार्यान्वयन भए कडा प्रतिरोध गर्ने चेतावनी दिए। त्यसैगरी उनले प्रधानमन्त्री सुशीला कार्कीमाथि पनि तीव्र प्रहार गरे। ‘सुशीला कार्की संविधानभन्दा बाहिर गएर प्रधानमन्त्री बनेकी हुन्’ ओलीले भने, ‘प्रधानमन्त्री बन्न संसद् विघटनको सर्त राखिन्। लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री बन्नु कस्तो विचित्रको राजनीति हो?’
ओलीले अहिलेको सरकारलाई विदेशी प्रभावमा सञ्चालन भइरहेको दाबी गर्दै भने, ‘यो सरकार नेपालीको होइन, कसको हो थाहा छैन। कुनै खास उद्देश्य र निर्देशनमा चलेको देखिन्छ।’ उनले सुशीला कार्की नेतृत्वको सरकारलाई भारत र अमेरिकाको योजनाअनुसार बनेको संकेत गर्दै ‘नेपालको स्वाधीन राजनीतिमा बाह्य शक्तिको हस्तक्षेप बढ्दै गएको’ टिप्पणी गरे।
‘केपी ओलीलाई पासपोर्ट रोक्ने, उपत्यका बाहिर जान नदिने, राति तीन बजे बैठक गरेर पक्राउको तयारी गर्ने–यस्तो तमासा नहोस्,’ उनले भने, ‘म सुशीला कार्कीको डरले भाग्ने मान्छे होइन।’ ओलीको भनाइ अनुसार, जेनजी आन्दोलनमा भएको दमनबारे निष्पक्ष छानबिनको नाममा एमालेविरुद्ध प्रतिशोधपूर्ण अभियान चलाइएको छ।
उनले सरकारको नैतिकता र वैधानिकता दुबैमा प्रश्न उठाउँदै ‘एमालेले यस्तो अन्यायपूर्ण नाटक स्वीकार गर्न सक्दैन’ भने।