टोखामा फलामको रड प्रहारबाट युवकको हत्या, उदयपुरका लामासहित दुई जना पक्राउ

काठमाडौँ— टोखा नगरपालिका–२ चण्डेश्वरीमा बिहीबार राति भएको झगडामा एक युवकको मृत्यु भएको छ। युवाहरले फलामको रड प्रहार गर्दा पाँचथर घर भएका ४० वर्षीय राम लिम्बुको मृत्यु भएको हो।

काठमाडौं प्रहरी परिसरका अनुसार, हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङ छन्। दुवैलाई घटनास्थलमै प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, राम लिम्बु र ती दुईबीच बिहीबार राति सामान्य विवाद भएको थियो। झगडा बढ्दै जाँदा फलामको रडले प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै ट्रमा सेन्टर लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।

पक्राउ परेकामाथि प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, ती तीनै जना घटनाको समयमा मदिरा सेवन गरेका थिए र विवाद व्यक्तिगत कारणले भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घटनास्थलबाट प्रयोग गरिएको फलामको रड बरामद गरिएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

स्थानीयवासीका अनुसार, टोखा चण्डेश्वरी क्षेत्रमा हालैका दिनहरूमा मदिरा सेवन र झगडाका घटना बढ्दै गएको बताइएको छ। प्रहरीका अनुसार, सो क्षेत्रलाई ‘संवेदनशील क्षेत्र’का रूपमा निगरानीमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट