सप्तरीको वरमझियामा बस–ट्रक ठोक्किँदा बसका कण्डक्टरको मृत्युः ११ जना घाइते
राजविराज— पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझिया नजिकै बिहीबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १० भन्दा बढी यात्रु घाइते भएका छन्।
राति करिव पौने ११ बजे जनकपुरबाट काकरभिट्टा जाँदै गरेको मधेश प्रदेश ०२–००१ ख ०२८७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ३ ख ४४०२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो। दुर्घट्नामा करिव ५० वर्षीय बसका कण्डक्टरको मृत्यु भएको छ। उनको बारेमा थप जानकारी प्राप्त भईसकेको छैन।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बसमा झण्डै ५५ जना यात्रु सवार थिए। ति मध्ये ६ जना गम्भिर र ७ जना मध्यम र सामान्य घाईते भएका थिए।
उनीहरु सवैलाई उपचारका लागि कञ्चनरुपको ठेलिया अस्पतालमा उपचारका लगिएको थियो। तर, चिकित्सकले कण्डक्टरलाई मृत घोषणा गरेका छन्। गम्भीर घाइते पाँच जनालाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ। भारतको सुजातपुरका ३२ वर्षीय मो. सहिद, १२ वर्षीय अलताफ इनताफ, सुनसरीका ३१ वर्षीय शंकर कुमार मेहता, सर्लाहीका ४० वर्षीय मनोज कुमार साह र मोरङकी २७ वर्षीया कृतिका कोईरालाको विराटनगरमा उपचार भईरहेको छ।
मध्यम तथा सामान्य घाइतेहरूमा भारतको सितामढीका २२ वर्षीय अनिस कुमार शर्मा, २४ वर्षीय सुभान्सु कुमार झा, शान्ती देवी, जलेश्वरका ५४ वर्षीय जयरुद्र झा, धनुषाका २३ वर्षीय सोनु राम र झापाकी टीका देवी दुलाल छन्। उनिहरुको कञ्चनरुपमै उपचार भईरहेको छ।
बस चालक बर्दिवासका ३५ वर्षीय प्रबिन कुमार विश्वकर्माको ढाड, कम्मर र बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ। तर दुर्घटनापछि ट्रक चालक भने फरार भएका छन् र उनको खोजी तीव्र पारिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीले तीव्र गति वा लेन अनुशासन उल्लङ्घन दुर्घटनाको सम्भावित कारण रहेको प्रारम्भिक अनुमान गरेको छ।

