गाजामा नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको विश्वास, नयाँ सूचीमा नाम समावेश

काठमाडौँ– हमासले गाजामा बन्धक बनाएका व्यक्तिहरूमध्ये २२ जना अझै जीवित रहेको नयाँ सूची सार्वजनिक गरेको छ। उक्त सूचीमा नेपालका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको नाम पनि समावेश छ।

अमेरिकी पत्रिका वासिङ्टन पोस्टले शुक्रबार सार्वजनिक गरेको उक्त सूचीमा विपिनको नाम उल्लेख गरिएको हो। यसअघि सीएनएनले प्रकाशित गरेको विवरणमा भने २० जना मात्र जीवित रहेको र नेपाली विद्यार्थी विपिनको अवस्था ‘अज्ञात’ भनिएको थियो।

हमास र इजरायलबीच अमेरिकाको मध्यस्थतामा दुई वर्षपछि युद्धविराम सहमति भएपछि धेरै परिवारमा आशाको किरण देखिएको छ। बन्धक बनेका आफ्ना प्रियजन फर्कने सम्भावनाले विश्वभरका परिवारहरूमा राहत मिलेको छ।

हमासले बिहीबार राति सार्वजनिक गरेको पहिलो चरणको नामावलीमा २० जना युद्धबन्दीको सूची थियो, तर ती सबै इजरायली नागरिक थिए। नेपाली विपिन जोशीको नाम त्यसमा थिएन।

कञ्चनपुरका २३ वर्षीय विपिन जोशी सन् २०२३ मा अध्ययनका लागि इजरायल पुगेका थिए। अक्टोबर ७, २०२३ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा आक्रमण गर्दा १० जना नेपाली विद्यार्थी मारिएका थिए। त्यही दिन विपिनलाई हमासका लडाकुहरूले अपहरण गरी गाजातर्फ लगेका थिए।

विपिनलाई अन्तिम पटक २०२३ नोभेम्बर १७ मा गाजाको अल–शिफा अस्पतालमा देखिएको बताइन्छ। त्यसपछि उनको कुनै जानकारी प्राप्त भएको छैन। केही समयअघि सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि पुरानो फुटेज भएको इजरायलस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

विपिन जोशीका परिवारका लागि यो वर्ष निरन्तर प्रतीक्षा र पीडाको चक्र बनेको छ। युद्धविरामले विश्वका सयौं परिवारमा आशाको किरण फ्याँकेको बेला, जोशी परिवार अझै अनिश्चिततामा छ। विपिनकी आमा सन्तुषा जोशीले भनिन्, ‘हामी हरेक दिन समाचार हेर्छौं, फोन पर्खन्छौं। अब वासिङ्टन पोस्टमा उनको नाम देख्यौं, यो हाम्राका लागि भगवानको संकेत जस्तै हो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट