सुदन गुरुङ प्रकरणः ‘हामी नेपाल’को नाराभित्र लुकेको विदेशी डिजाइन ? (भीडीओसहित)

काठमाडौँ— ‘अब अति भयो, झुटा आरोप लगाउनेविरुद्ध उजुरी हाल्छु।’ ‘हामी नेपाल’ अभियानका अध्यक्ष सुदन गुरुङको यो चेतावनी सामाजिक सञ्जालमा प्रतिकारको झण्डा झैँ फहराएको छ। तर यो अभिव्यक्तिले उनको ‘निर्दोषताको प्रमाण’ भन्दा पनि उनीमाथि उठेका विदेशी घुसपैठ र आन्दोलन ‘हाइज्याक’ आरोपलाई झन् प्रस्ट बनाएको जस्तो देखिन्छ।
गुरुङले नेतृत्व गरेको ‘हामी नेपाल’ अभियान जेनजी आन्दोलनमा पानी बाँड्ने स्वयम् सेवकका रुपमा प्रवेश गरेर नेतृत्वकर्ता भएर निस्कियो। आन्दोलनमा असन्तुष्ट र अनिश्चयको भुमरीमा रहेका युवाहरूलाई नयाँ दिशातर्फ तान्ने प्रयास गर्यो।
स्रोतहरूका अनुसार, ‘हामी नेपाल’को वित्तीय र रणनीतिक समर्थन केही अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरू र ‘फ्री टिबेट’ सम्बन्धित सर्कलबाट आएको देखिन्छ। चीनको पृथक्तावादी समुहका नेता दलाई लामोले सञ्चालन गरेको युएसएआईडीलगायत अमेरिकी आईएनजीओसँग पैसा लिएर काम गरिरहेको बारबरा फाउण्डेशनसँग उनको सम्वन्ध पुष्टि भईसकेको छ।
यसै सन्दर्भमा आन्दोलनमा ड्रागनको चित्रसहित टीओवी लेखिएको टिसर्ट र बुलेट वाईकमा आएको समुहको जेनजी आन्दोलनमा देखिएको संलग्नतालाई पनि धेरैले गुरुङकै योजनाका रुपमा वुझेका छन्। त्यसै कारण गुरुङमाथि विदेशी एजेण्डा बोक्ने, जेनजी आन्दोलनको मौलिक स्वर ‘हाइज्याक’ गर्ने, र युवाहरूको असन्तोषलाई ‘भूराजनीतिक उपकरण’ बनाउने आरोप लाग्दै आएको छ। उनीमाथिको सबैभन्दा ठूलो प्रश्न यही हो— के उनी वास्तवमै स्वतन्त्र नेपाली अभियन्ता हुन्, वा बाह्य संरचनाको ‘फिल्ड एजेन्ट’?
तर, गुरुङले हालै भिडियो सन्देशमार्फत भनेका छन्, ‘अब अति भयो, प्रमाणबिना झुटा समाचार फैलाउनेविरुद्ध उजुरी हाल्छु।’ उनको भनाइले आत्मरक्षाको आक्रोश देखाउँछ— तर यो आक्रोशले नै उनीमाथिको संदेह हटाउनुभन्दा झन् गहिरो बनाएको छ।
सामाजिक सञ्जालमा ‘साइबर सेना’ नामक समूहले उनीविरुद्ध फैलाएका सामग्रीहरूलाई उनी ‘फेक न्यूज’ भन्छन्। गुरुङले नेपाली समाजमा ‘खुट्टा तान्ने प्रवृत्ति’ हावी भएकोमा दुःख व्यक्त गरे। उनले भने, ‘यो खुट्टा तान्ने प्रवृत्ति हाम्रो नेपाली समाजबाट कहिल्यै हट्ने भएन।’ उनले पछिल्लो समय ‘साइबर सेना’ भनिने समूहले आफूहरूलाई विभिन्न आरोप लगाएर बदनाम गर्न खोजेको बताए। उनले ‘साइबर सेना’ले ‘टिओबी’ र ‘फ्री टिबेट’ जस्ता समूहसँग जोडेर आफूहरूलाई बदनाम गर्न खोजेको आरोप लगाए।
गुरुङले आफूमाथि लगाइएका आरोपको प्रमाण माग गर्दै भने, ‘त्यो भिडियोमा चाहिँ म चाहिँ कहाँ छु भनेर के? म चाहिँ कहाँ छु भनेर त्यहाँ देखाउनु पर्यो के। र मैले बोलाएको हो भने त्यो प्रुफ कहाँ छ मैले बोलाएको हो भने।’ तर ती सामग्रीहरूमा देखाइएका केही प्रमाण (उनको सम्वन्ध, विदेशका स्रोतसँगको आर्थिक सम्पर्क, र टिओबी–फ्री टिबेट नेटवर्क) अहिलेसम्म उनले ठोस रूपमा खण्डन गर्न सकेका छैनन्।
गुरुङले भनेका छन्, ‘हामी नेपाल अभियानको सबै वित्तीय विवरण सार्वजनिक गर्छौं।’ तर उनले कहाँ र कसरी त्यो विवरण सार्वजनिक गर्ने हुन्, स्पष्ट छैन। उनले वित्तीय पारदर्शितामाथि प्रश्न उठाउनेहरूलाई खुल्ला चुनौती दिँदै ‘हामी नेपाल’को सबै वित्तीय विवरण सार्वजनिक गर्ने घोषणा गरे। गुरुङले आफ्ना आलोचकहरूलाई ‘घुसपैठिया’ भनेका छन्। गुरुङले अब झुटा आरोप र घुसपैठ सह्य नहुने भन्दै कानुनी कारबाहीका लागि अघि बढ्ने घोषणा गरे। उनले भने, ‘अब त्यो हुँदैन। अब चाहिँ के गर्छौं भने, हामीले यो साइबर सेनाको विरुद्धमा अबदेखि जसले फेक न्युज फैलाउँछ, त्यसको प्रुफ र एभिडेन्ससहित हाम्रो आइटी टिमलाई दिएर हामीले त्यसको बारेमा चाहिँ हामी दोषी भयो भने हामीलाई कारबाही गर्नुपर्यो र हामी दोषी होइन भने त्यसलाई कारबाही गर्नुपर्यो।’
आफूहरूको शान्तिपूर्ण आन्दोलनमा ‘घुसपैठ’ गरेर भङ्ग गर्न खोज्नेहरूमा केही नेताहरू पनि देखिएको दाबी गर्दै उनीहरूविरुद्ध भोलिदेखि नै उजुरी हाल्ने चेतावनी दिए। उनले भने, ‘जति जनाले हाम्रो आन्दोलनमा घुसपैठ गरेर तपाईंको शान्ति भङ्ग गर्न खोजेको छ, यसको बारेमा चाहिँ हामी अब उजुरी हाल्दिन्छौं।’
तर आन्दोलनकै कतिपय सदस्यहरूले उल्टो आरोप लगाइरहेका छन— आन्दोलनमा घुसपैठ गर्ने त उनी नै हुन्। भदौ २३–२४ को जेनजी प्रदर्शनपछि जब आन्दोलन स्वतःस्फूर्त जनआक्रोशमा परिणत भएको थियो, त्यही बेला सुदन गुरुङ र उनका सहयोगीहरू पानी बाँड्न भन्दै आएका थिए। ‘तिनीहरू पानी बाँड्न आएका थिए, तर भोलीपल्ट नै आन्दोलन कब्जा गरे,’ जेनजी अगुवाहरु भन्छन्। यो ‘कब्जा’ नै अहिले आन्दोलनको अनिश्चितताको कडी बनेको छ।
सुदन गुरुङले आग्रह गरेका छन— ‘नागरिकहरूले सत्य र असत्य छुट्याउने क्षमता विकास गर्नुपर्छ।’ तर अहिलेको अवस्थाले देखाउँछ, सत्य र असत्यबीचको रेखा उनी स्वयंले मेटाउँदैछन्। ‘हामी नेपाल’को नाममा उठेको अभियानले जेनजी आन्दोलनको वास्तविक भावनालाई ढाकेको, र विदेशी रणनीतिलाई देशभक्तिको आवरणमा बेरेर अघि बढाएको आशंका अब केवल आरोपमा मात्र सिमिति छैन, तत्थयहरुले त्यसलाई पुष्टि गर्दै गएका छन्।
यो ‘आन्दोलन’ कि ‘सञ्चालित प्रोजेक्ट’? भन्ने प्रश्नको उत्तर अव जनताले नै खोज्ने छन्।
@sheershakhabarnews.com जेनजी आन्दोलनमा Tibetan Origin Blood को संलग्नता देखिएपछि रक्षात्मक भए सुदन गुरुङ