सप्तरीमा नवविवाहिता कृषलाकुमारी यादवको शंकास्पद मृत्यु, पक्राउ परेका पति र ससुरा पोस्टमार्टम अघि नै छुटे

राजविराज– सप्तरीको बलान बिहुल गाउँपालिका–२ की २० वर्षीया नवविवाहिता कृषलाकुमारी यादव बुधबार आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परिन। अनुशन्धानको क्रममा प्रहरीले उनका पति खगेन्द्र यादव र ससुरा मदन यादवलाई पक्राउ गर्यो।
तर, पोष्टमार्टम रिपोर्ट नआउँदै प्रहरीले खगेन्द्र र मदनलाई रिहा गरेको छ। जसले अनुसन्धान प्रक्रियामा विवाद बढेको छ। कृषलाको हत्या भएको उनका बाबु राजकुमार यादवको दावी छ। उनका अनुसार करिव १५–१७ लाख रुपैयाँ खर्च गरेर २५ वैशाखमा सामाजिक परम्पराअनुसार कृषलाको विवाह भएको थियो।
जसमा १० लाख नगद, आधा तोला सुन, फर्निचर, लत्ताकपडा लगायतको खर्च समावेश छ। तर, दाईजो अपुग भएकै कारण छोरीको हत्या भएको उनको आरोप छ। उनका अनुसार, प्रहरीले पोस्टमार्टम रिपोर्ट आउनुअघि नै पति र ससुरालाई छोडिदिएको छ, जसले प्रमाण नष्ट हुने सम्भावना बढाएको छ।
इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर गजेन्द्र रायमाझीले भने, गाउँपालिका अध्यक्षको जिम्मामा दुवै जनालाई छाडिएको जनाएका छन्। ‘अनुसन्धान रोकिएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि कानुनी प्रक्रिया पूरा गरिनेछ।’– उनले भने।
सप्तरीमा नवविवाहिता शंकास्पद मृत्यु नयाँ विषय होइन। गत भदौ १४ मा महादेवा गाउँपालिका–१ की २१ वर्षीया दीपाकुमारी यादवको पनि शंकास्पद मृत्यु भएको थियो। उनको हत्या गरेको दीपकले स्विकार गरिसकेका छन्। दीपक र उनका वुबा पर्शुराम प्रहरी नियन्त्रणमा छन्।
अचानक राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएकी दीपाको पुग्नु अघि नै मृत्यु भइसकेको थियो। उनको शरीरमा चोटपटक तथा घाँटीमा नीलडाम देखिएपछि काका भगवतीप्रसादले प्रहरीमा उजुरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी गौतमकुमार केसीका अनुसार, दीपकले झगडाका क्रममा सलले घाँटी कस्दा दीपाको मृत्यु भएको थियो। सप्तरीमा एकपछि अर्की नवविवाहिताको मृत्युको घटनाले सामाजिक सुरक्षा र कानुनी प्रक्रिया दुबैमा प्रश्न उठाएको छ।