न्युयोर्क टाइम्सको खोजले देखायो जेनजी आन्दोलनमा नेपाली मिडियाले नदेखेको सत्य

काठमाडौँ— २४ भदौमा राजधानी काठमाडौमा भएको आगजनीलाई लामो समयसम्म ‘भीडको आक्रोश’ र ‘स्वस्फूर्त आन्दोलन’ भनेर प्रचार गरिएको थियो। तर अमेरिकी अखबार द न्युयोर्क टाईम्सले सार्वजनिक गरेको अनुसन्धानले त्यो धारणालाई उल्ट्याउँदै घटनालाई ‘पूर्वनियोजित’, ‘सङ्गठित’ र ‘राजनीतिक रूपले संरक्षित’ अपरेसनका रूपमा चित्रण गरेको छ।

रिपोर्टका अनुसार संसद भवन, सर्वोच्च अदालत र सिंहदरबारमा आगो लाग्ने क्रम कुनै दुर्घटना थिएन। ती तीनै स्थानमा ८० मिनेटभित्र आगलागी भएको छ। दिउँसो १ः४५ मा संसद भवन, २ः५० मा सर्वोच्च अदालत र ३ः०६ मा सिंहदरबार आगजनी र तोडफोड पूर्वनियोजित ‘फायर रुट’ भएको संकेत हो।

अन्तर्राष्ट्रिय विज्ञ रिचर्ड ह्यागरले भनेका छन्, ‘बिना संगठनात्मक शक्ति यति छोटो समयमा यति धेरै भवनमा आगो लगाउन असम्भव छ।’ न्युयोर्क टाइम्सले प्रहरी अधिकारीहरूका भनाइ उद्धृत गर्दै लेखेको छ— ‘बल प्रयोग गर्न आदेश नआएकाले प्रहरी निष्क्रिय रहन बाध्य भयो।’

यो अभिव्यक्तिले ‘माथिल्लो तह’ बाट आदेश नै रोकिएको संकेत दिन्छ। घटनास्थलमा उपस्थित सुरक्षाकर्मीहरू ‘आदेशको प्रतीक्षा’ मा रहँदा राजधानीका प्रमुख सरकारी संरचना आगोको लप्काले निलिरहेको थियो। यसले राज्य संयन्त्रभित्रको गम्भीर प्रशासनिक असमञ्जस्यता उजागर गरेको छ।

सामान्यतया सिंहदरबार र संसदका माथिल्लो तलाका झ्याल सधैं बन्द राखिन्छन्। तर आगलागीको दिन ती सबै झ्याल खुला भेटिए। यो विषयमा सिंगापुरका आगलागी विज्ञ केनेथ कीले प्रश्न उठाएका छन्। ‘खुला झ्यालले आगो फैलाउने काम सजिलो बनायो। के यो सुरक्षा निकायकै भित्री खेल हो?’– उनले प्रश्न गरेका छन्।

रिपोर्टले यो बिन्दुलाई सबै भन्दा शंकास्पद र असामान्य भएको उल्लेख गरेको छ। रिपोर्टमा सरकारको ढिलासुस्तीमाथि पनि कठोर प्रश्न उठाइएको छ– ‘फोरेन्सिक इनभेस्टिगेसन नगरी आगलागीको वास्तविक कारण थाहा पाउनु असम्भव छ।’

घटनास्थलका जलेका पदार्थ, धुवाँको संरचना र जलेको तापक्रम हेर्दा रासायनिक पदार्थ प्रयोग भएको स्पष्ट देखिए पनि सरकारले अहिलेसम्म कुनै आधिकारिक नमुना परीक्षणको आदेश दिएको छैन। विज्ञहरूको भनाइमा, यस्तो ढिलाइ प्रमाण नष्ट गर्ने रणनीति हुन सक्छ।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाका शाखा अधिकृत पवन ढुंगानाले न्युयोर्क टाइम्ससँग भनेका छन—‘आगोमा सोडियम वा म्याग्नेसियमजस्ता रासायनिक तत्व प्रयोग भएको हुनसक्छ। तर हामीलाई अहिलेसम्म परीक्षणका लागि आधिकारिक रूपमा बोलाइएको छैन।’ यो स्वीकारोक्तिले अनुसन्धानमा जानाजानी अवरोध भएको स्पष्ट सङ्केत दिन्छ।

प्रत्यक्षदर्शीका अनुसार संसददेखि सिंहदरबारसम्म दुई घण्टाभित्रै तहसनहस भएको थियो। रिपोर्टमा भनिएको छ–‘सिंहदरबारबाट आधा घण्टाभित्र धुवाँ निस्कनु, भवनभित्र पहिले नै आगो फैलाउने पदार्थ राखिएको संकेत हो।’ तीन फरक युवकले फरक–फरक समयमा पेट्रोल, सलेदो र बोतलसहित आक्रमण गरेको तथ्य फेला परेको छ। यसको संरचना ‘को–अर्डिनेटेड अपरेशन’ जस्तो देखिन्छ।

रिपोर्टमा अमेरिकी पत्रकार हाना बिच र सजल प्रधानले लेखेका छन— ‘नेपालको भूराजनीतिक संवेदनशीलता र चीन–भारत–अमेरिका त्रिकोणभित्र यो आन्दोलनको प्रभाव गहिरो हुनसक्छ।’ प्रहरीले आदेश नपाउनु, फोरेन्सिक रोकिनु, र झ्याल खुला रहनु—यी सबै विषयलाई गम्भिर प्रश्नका रुपमा उठाईएको छ।

विज्ञ केनेथ की भन्छन्, ‘यदि सुरक्षाकर्मीले चौकी छाडेका थिए र झ्याल खुला राखिएको थियो भने, त्यो केवल असावधानी होइन, मिलेमतो हो।’ आगलागीमा जलेका नमुनाको परीक्षण नहुँदा ‘कसले ग¥यो?’ भन्ने मूल प्रश्न अझै अनुत्तरित छ।

पवन ढुंगानाले अन्त्यमा भनेका छन— ‘हामी पनि जान्न चाहन्छौं, तर अब पत्ता लगाउन सकिँदैनजस्तो लाग्छ।’ यो भनाइले घटनाको संवेदनशीलता मात्र होइन, राज्य संयन्त्रको मौन सहमतिको आभास पनि दिन्छ।

न्युयोर्क टाइम्सको रिपोर्टले देखाउँछ— २४ भदौको आगजनी कुनै आकस्मिक विस्फोट होइन, बरु राज्यभित्रैको मौन सहकार्य र असन्तुलित शक्ति–संघर्षको प्रतिफल थियो। फोरेन्सिक रोक्ने, प्रहरीलाई कुनै आदेश नदिने, सिंहदरबारका झ्याल खुला राख्ने र अनुसन्धान टार्ने घटनाहरू सामान्य होईनन्।

‘जेन–जी आन्दोलन’ अब केवल सामाजिक विद्रोह होइन, राज्यका निकायभित्र लुकेको ‘सुरक्षा संयन्त्र’ असफल बनाउने चेतावनी बनिसकेको छ। तर यो चेतावनीलेसचेतना ल्याउँछ कि अर्को अराजक्ता जन्माउँछ—यो प्रश्न अझै अनुत्तरित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट