बाख्रा चोर र ठगीको आरोप लागेका जेन–जी नेता अर्जुन शाहीसँग भेटियो प्रहरीको परिचयपत्र

काठमाडौँ — ‘प्रणाली परिवर्तन’का नारामा सडकमा उत्रिएका जेन–जी आन्दोलनका नाममा विभिन्न सरकारी कार्यालय घुम्दै धम्की दिने अर्जुनबहादुर शाहीको गतिविधि फेरि विवादमा परेको छ। बुधबार कोटेश्वरबाट पक्राउ परेका शाहीसँग प्रहरीले प्रहरी सहायक निरीक्षक (असई)को परिचयपत्र फेला पारेको छ।
प्रहरी स्रोतका अनुसार शाहीसँग भेटिएको परिचयपत्र कुमार शर्मा नामक असईको हो, जो हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन्। शर्माले सो परिचयपत्र हराएको भन्दै प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीका अनुसार उनी प्रहरी निरीक्षकमा नाम निकालेर तालिममा जाने तयारीमा छन्।
शाही पक्राउ पर्नुअघि उनले ‘जेन–जी रिभोलुसन नेपाल’का उपाध्यक्षको परिचय दिँदै सरकारी निकायहरूमा पुगेर कर्मचारीलाई धम्क्याउने काम गर्दै आएका थिए। उनले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेर ‘अनुगमन र ज्ञापनपत्र बुझाउने’ नाममा हल्ला मच्चाएका थिए।
अर्जुन शाहीले केही दिनअघि नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको ‘राजीनामा माग्दै’ कार्यालयमै डेढ घण्टा हल्ला मच्चाएका थिए। भिडियो फुटेजमा उनी टेबल ठोक्दै अधिकारीलाई धम्क्याउँदै गरेको देखिन्छ। उनले अधिकारीलाई जहाज दुर्घटनालगायतका असक्षमताको जिम्मेवारी लिँदै पदत्याग गर्न दबाब दिएका थिए।
तर, शाहीको विगत हेर्दा उनी आन्दोलनकारी भन्दा बढी ठगी र चोरीका अभियुक्त देखिन्छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का शाहीमाथि ठगी, चेक बाउन्स र बाख्रा चोरीसम्मका मुद्दा दर्ता छन्। अछामकै तुलाबहादुर शाहीका तीनवटा बाख्रा चोरीमा उनी संलग्न रहेको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
त्यसैगरी, काठमाडौंका महाराजगन्ज, बौद्ध र स्वयम्भू प्रहरी वृत्तमा पनि शाहीविरुद्ध चेक बाउन्स र ठगीका फरक–फरक मुद्दा छन्। महाराजगन्जमा उनले १० लाख ३० हजार रुपैयाँको चेक अस्वीकृत गराएका थिए भने बौद्धमा ७ लाख र स्वयम्भूमा १० लाख रुपैयाँको मुद्दा दर्ता छ।
वैदेशिक रोजगारको नाममा समेत उनले ८ लाख रुपैयाँ लिएर जापान पठाइदिन्छु भन्दै ठगी गरेको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले गत वैशाख २८ गते उनलाई पक्राउ गरेको थियो। त्यसबेला उनले मेलमिलाप गर्दै रकम अनलाइनमार्फत बुझाएको र पछि रिहा भएको अधिकारीहरूले पुष्टि गरेका छन्।
तर, प्रहरी स्रोतका अनुसार ती सबै मुद्दा अझै निष्कर्षमा पुगेका छैनन्। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दा उनी शीतलनिवास पुगेका थिए, जहाँ उनले ‘जेन–जी प्रतिनिधि’का रूपमा सुशीलासँग हात मिलाएको फोटो अहिले चर्चामा छ। सो फोटोको भरमा उनले आफूलाई ‘सत्तानजिकको व्यक्ति’का रूपमा प्रस्तुत गर्दै कार्यालय–कार्यालय धाउन थालेका थिए।
तर, अब प्रहरीको परिचयपत्रसम्म फेला परेपछि उनीमाथिको शंका अझ गहिरिएको छ। बाख्रा चोरीदेखि ठगी र चेक बाउन्ससम्मका अभियोग खेप्ने व्यक्ति ‘प्रणाली परिवर्तन’का नाममा सरकारी निकाय धम्क्याउँदै हिँड्नुले जेन–जी आन्दोलनकै नैतिकता प्रश्नमा परेको विश्लेषण भइरहेको छ।