गृहमन्त्री अर्यालको आरोपः केपी ओली सैतान प्रवृत्तिका मान्छे हुन्, उनकै कारण देशमा अस्थिरता आयो

काठमाडौँ — जेन–जी सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ‘सैतानको प्रवृत्ति भएका ब्यक्ति’ भन्दै आलोचना गरेका छन्। नयाँ पत्रिका दैैनिकसँगको अन्तरवार्ताका क्रममा अर्यालले देशमा अस्थिरता ल्याउने मुख्य कारण नै केपी ओली भएको आरोप लगाएका छन्।
‘उहाँमा सैतानी प्रवृत्ति छ, भड्काउने मात्र काम गर्नुहुन्छ। उहाँको विगत पनि त्यस्तै छ, आजसम्म सुध्रिनुभएको छैन। कुशासनविरुद्धमा उर्लेको जनसागर र विद्रोहले उहाँलाई अपदस्त गरेको हो, त्यो पनि उहाँले बोध गर्नुभएन।’– अर्यालले भनेका छन्।
जेन–जी आन्दोलनको समयमा देशभर फैलिएर आएको असन्तोष र युवा पुस्ताको विद्रोहलाई ‘राष्ट्रविरोधी गतिविधि’को रूपमा चित्रण गर्न खोज्नेहरू अहिले पनि सक्रिय रहेको भन्दै उनले त्यस प्रवृत्तिमाथि सरकार सतर्क रहेको बताए।
‘जसको दिमागमै सैतानको वास छ, उसले आफूबाहेक सबैलाई बेठिक ठान्छ,’ गृहमन्त्री अर्यालले भनेका छन्–‘उहाँ (ओली) को दिमाग सैतानी छ, त्यो प्रवृत्तिविरुद्ध सरकार निगरानीमा छ।’
‘निवर्तमान प्रधानमन्त्रीलगायतलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई पत्रचार गरेको’ विषय असत्य भएको उनको दावी छ। ‘त्यो कुन पत्र हो बाहिर ल्याउन सक्नुप¥यो। शतप्रतिशत झुटो तथ्य खडा गरेर गलत भाष्य सिर्जना गरियो’ उनले भनेका छन्–‘त्यसलाई सम्बोधन गर्न मलाई फुर्सद छैन। म आफ्नो काममा ब्यस्त छु।’
‘जाहेरी त प्रहरीले दर्ता नगरी रोकेर राखेको छ नि ?’ भन्ने प्रश्नमा उनले भनेका छन्–‘त्यो त जसले अहिले रोकेर राख्नुभएको छ, उहाँहरूले जवाफ दिनुप¥यो । ऐन भनेको त संसद्को आदेश होला नि । संसद्ले आदेश दिएको छ । जिल्ला परिसर, प्रहरी परिसरले के गर्ने ? जिल्ला सरकारी वकिल कार्यालयले के गर्ने ? त्यहाँ लेखेको होला नि त। लेखेको कुरामा डिसिजन नदिईकन बस्न पाइन्छ कि पाइँदैन ? डिसिजन लिँदा कस्तो लिनुपर्छ ?’
व्यवसायीहरुले दिएको उजुरीमा कारवाही गर्ने विषयमा भने प्रहरीले समय नपाएको भन्दै उनी पन्सिन खोजेका छन्। ‘हाम्रा सम्पत्ति जलाउनेको प्रमाण प्रहरीमा बुझाएका छौँ, तर पनि अनुसन्धान अघि बढाएन’ भन्ने व्यवसायीको गुनासोमा उनले भनेका छन्–‘प्रहरीले आफ्नो शक्तिअनुसार गर्छ। एकैचोटि लाखौँ विषयमा काम गर्न सक्छ र ?’
‘व्यवसायीलाई सबै बिजेनस एकैपटक ल्याएर गर भन्दा नसक्ने’ उदाहरण दिँदै उनले भनेका छन्–‘प्रहरीले अनुसन्धान गरिरहेको छ। योजनाबद्ध रूपमा लुटपाट र आगजनी गर्नेहरू कारबाहीको भागिदार बन्नैपर्छ। महत्वपूर्ण संरचनादेखि पुरातात्विक संरचना र देशका धरोहर नष्ट गरेको विषय क्षम्य हुँदैन।’