भारतीय सिनेमा नगरीका चर्चित हाँस्य अभिनेता गोवर्धन असरानीको ८४ वर्षमा निधन

मुम्बई— भारतीय फिल्म उद्योगका लोकप्रिय हाँस्य अभिनेता तथा निर्देशक गोवर्धन असरानीको लामो समयको बिरामीपछाडि सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ। हिन्दी सिनेमा क्षेत्रमा उनले छोडेको अमिट छाप र दर्शकप्रतिको योगदान सधैं सम्झनलायक रहनेछ।

गोवर्धन असरानीको दिउँसो ३ बजे मुम्बईको जुहुस्थित आरोग्य निधि अस्पतालमा निधन भएको हो। परिवारले उनकै इन्स्टाग्राम प्रोफाइलमार्फत मृत्युको जानकारी दिएका छन्। ‘हाम्रा प्रिय, जसले सबैको अनुहारमा मुस्कान ल्याए, असरानीजी अब हामीमाझ हुनुहुन्न। उहाँको निधनले हिन्दी सिनेमालाई र हाम्रा हृदयहरूलाई अपूरणीय क्षति भएको छ। उहाँले आफ्ना अभिनयमार्फत छोडेको अमिट छाप सधैं अमर रहनेछ। भगवानले उहाँको आत्मालाई शान्ति प्रदान गरून्।’ इन्स्टामा लेखिएको छ।

असरानीको जन्म सन् १९४१ जनवरी १ मा जयपुरमा भएको थियो। आफ्नो प्रारम्भिक शिक्षा पूरा गरेपछि उनले अखिल भारतीय रेडियोमा भ्वाइस आर्टिस्टको रूपमा करियर सुरु गरेका थिए। साहित्यकार कालाभाई ठक्करबाट अभिनयको प्रशिक्षण लिएर उनी सन् १९६२ मा मुम्बई पुगे र पुणेको फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट १९६६ मा स्नातक गरे।

हृषिकेश मुखर्जीसँगको संयोगिक भेटले उनलाई फिल्म ‘गुड्डी’ (१९७१) मा अडिसन दिने अवसर प्रदान ग¥यो, जसमा उनले जया बच्चनलाई परिचय गराउने भूमिका निभाए। यो फिल्म हिट भएपछि असरानीको करियर छिट्टै स्थापित भयो।

असरानीले बावर्ची, नमक हराम, चुपके चुपके, अभिमान, चला मुरारी हीरो बनने, पति पत्नी और वो, परिचय, छोटी सी बात, रफू चक्कर, खून पसीना, आलाप, अमदावद नो रिक्शावालो, सात कैदी, संसार चक्र, र पंखी नो माल जस्ता थुप्रै चर्चित हिन्दी र गुजराती फिल्महरूमा काम गरे। उनको सबैभन्दा प्रतिष्ठित भूमिका भनेको ‘शोले’मा निभाएको जेलरको थियो। उनले छ वटा फिल्म पनि निर्देशन गरेका थिए।

अन्तिम पटक उनलाई सन् २००३ को कमेडी चलचित्र ‘धमाल’मा देदिएको थियो। उनका श्रीमती, अभिनेत्री मन्जु असरानीले सोमबार साँझ सान्ताक्रुज श्मशानमा उनको अन्तिम संस्कार सम्पन्न गरिन।

असरानीको अन्तिम सामाजिक सञ्जाल पोस्ट उनको निधन हुनुभन्दा केही घण्टाअघि मात्रै आएको थियो। उनले आफ्ना प्रशंसकहरूलाई दिपावलीको शुभकामना दिएका थिए। हिन्दी सिनेमा क्षेत्रमा छोडेको उनको योगदान र हाँस्यको अमिट छापले उनलाई सदैव स्मरणीय बनाउने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट