‘अलग–अलग स्त्रीसँग सेक्स’ र ‘सबै लागुऔषधमा ढलमग्न’ हुने रहरले विवादको केन्द्रमा बालेनका मन्त्री

राजविराज– कुनै बेला आफूलाई ‘जोगी जिन्दगी’ खोजिरहेको एक युवा लेखकले डायरीमा सयवटा रहर लेखेका थिए। ती रहरमध्ये केही यस्ता थिए, जसलाई उनले सम्भवतः व्यक्तिगत कल्पना, विद्रोही सोच वा जीवनप्रतिको असन्तुष्टिको अभिव्यक्तिका रूपमा कागजमा उतारेका थिए। तर समय घुमेर त्यही व्यक्ति आज मुलुकको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मन्त्री बनेका छन्। र, एक दशकभन्दा बढी समयअघि सार्वजनिक भएको उनको एउटा स्मृतिले अहिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र बहस जन्माएको छ।

बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गनेश पौडेल) अहिले आलोचनाको केन्द्रमा छन्। कारण बनेको छ २०७५ चैत २३ गते प्रकाशित उनको संस्मरणात्मक लेख ‘जोगी जिन्दगी’। उक्त लेखमा उनले विश्वविद्यालयको स्नातक तहको अन्तिम परीक्षा दिएपछि आफ्नै जीवनका लागि तयार गरेको ‘रहरको लिस्ट’ सार्वजनिक गरेका थिए। त्यसबेला उनले डायरीमा करिब सयवटा इच्छा, सपना र अनुभवको सूची बनाएर त्यसलाई ‘रहरको लिस्ट’ नाम दिएको उल्लेख गरेका थिए।

लेखमा पौडेलले आफूलाई लागेको एउटा भावनात्मक निष्कर्ष पनि खुलाएका थिए—‘यति रहर पूरा गरेपछि जिन्दगी बाँचिन्छ, बाँचेको सार लाग्छ।’ त्यही सूचीका केही बुँदा अहिले सामाजिक सञ्जालमा तीव्र विवादको विषय बनेका छन्। विशेषगरी ‘अलग–अलग देश, वर्ण, बनौट र जातिका स्त्रीसँग सेक्स गर्ने’, ‘मन परेकी लेखिकालाई सकभर नछोड्ने (आसय सेक्स गर्ने) ’ र ‘सबै प्रकारका लागुऔषधमा कम्तीमा एकपटक ढलमग्न हुने’ भन्ने बुँदाहरू अहिले आलोचनाको केन्द्रमा छन्।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मन्त्री पौडेलको पुरानो लेखको स्क्रिनसट व्यापक रूपमा सेयर गरिरहेका छन्। कतिपयले यसलाई संस्कृति मन्त्रालयको नेतृत्व गरिरहेको व्यक्तिका लागि यस्तो सोच सार्वजनिक रूपमा लेखिनु नै गम्भीर प्रश्न भएको बताएका छन्।

विवाद अझ चर्किएको छ किनभने यो बहस केवल व्यक्तिगत जीवनशैली वा साहित्यिक स्वतन्त्रतामा सीमित छैन। यसले राजनीतिक नेतृत्वको नैतिकता, सार्वजनिक पदमा पुगेपछि पुराना अभिव्यक्तिहरूको मूल्यांकन र सार्वजनिक व्यक्तित्वको सामाजिक जिम्मेवारीबारे नयाँ प्रश्न खडा गरेको छ।

सामाजिक सञ्जालमा लेखक तथा टिप्पणीकार यादव देवकोटाले मन्त्री पौडेलको पुरानो लेख उद्धृत गर्दै कडा आलोचना गरेका छन्। उनले स्क्रिनसर्ट शेयर गर्दै संस्कृतिमन्त्रीको रूपमा यस्तो सोच राख्ने व्यक्तिको उपयुक्ततामाथि प्रश्न उठाएका छन्। देवकोटाले आफ्नो पोस्टमा नेपाली सांस्कृतिक क्षेत्र, साहित्यिक वृत्त र राजनीतिक नियुक्तिहरूमाथि समेत टिप्पणी गरेका छन्।

तर विवादको अर्को पक्ष पनि छ। गनेश पौडेलले उक्त लेखमा आफूले बनाएको रहरको सूची अन्ततः कसरी भत्किँदै गएको थियो भन्ने आत्मस्वीकृतिपूर्ण कथा सुनाएका छन्। उनले सयवटा रहरबाट सुरु भएको सूची क्रमशः पचास, तीस, पन्ध्र, पाँच हुँदै अन्ततः एउटा रहरमा सीमित हुन खोजेको प्रसंग उल्लेख गरेका छन्। त्यसपछि उनले आफूलाई लागेको अर्को अनुभूति पनि लेखेका छन—अन्तिम इच्छा रोज्ने मानिस जीवनको अन्तिम प्रहरमा हुन्छ, तर आफूलाई भने इच्छा सकिने जीवन होइन, नयाँ इच्छा थपिरहन सक्ने जीवन चाहिएको थियो।

‘जोगी जिन्दगी’ मूलतः आत्मपरक संस्मरण हो, जसमा पौडेलले युवावस्थाको बेचैनी, औपचारिक शिक्षाप्रतिको वितृष्णा, समाज र शिक्षाले मान्छेको सपना कसरी सीमित बनाउँछन् भन्ने आफ्नो दृष्टिकोण तथा जीवनको अर्थ खोज्ने व्यक्तिगत यात्रालाई प्रस्तुत गरेका छन्।

लेखमा उनले विश्वविद्यालयबाट स्नातक भएर फर्किएपछि आफूले कल्पना गरेको जीवन र वास्तविकतामा बाँच्नुपरेको जीवनबीचको अन्तरलाई पनि चित्रण गरेका छन्। पोखरा फर्किएपछि रहरको जिन्दगी बाँच्ने सपना बोकेका उनी अन्ततः शिक्षक बनेको, त्यसलाई आफूले कहिल्यै नसोचेको बाटोका रूपमा अनुभव गरेको र वर्षौंसम्म आफूले चाहेको जीवनभन्दा फरक जीवन बाँचेको अनुभूति लेखमा व्यक्त गरेका छन्।

उक्त संस्मरणमा साहित्य, दर्शन, अस्तित्ववाद र स्वतन्त्र जीवनशैलीप्रतिको आकर्षण पनि देखिन्छ। विलियम शेक्सपियरको ‘ह्याम्लेट’, राल्फ वाल्डो इमर्सन, अल्बर्ट आइन्स्टाइन लगायतका सन्दर्भ प्रयोग गर्दै उनले शिक्षा, सपना, पहिचान र स्वतन्त्रताबारे आफ्ना धारणाहरू राखेका छन्। उनले मानिसले प्रायः आफू हुन नपाई अरूको परिभाषाअनुसार जीवन बिताउने गरेको तर्कसमेत गरेका छन्।

तर अहिले सार्वजनिक बहस त्यसको दार्शनिक पक्षभन्दा बढी विवादास्पद सूचीमै केन्द्रित भएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार सार्वजनिक पदमा पुगेका व्यक्तिका पुराना लेखन, अभिव्यक्ति वा सामाजिक व्यवहारहरू समयक्रममा पुनः मूल्यांकनको दायरामा आउने गर्छन्। विशेषगरी संस्कृति, शिक्षा वा नैतिक नेतृत्वसँग जोडिएका मन्त्रालयको जिम्मेवारी सम्हाल्ने व्यक्तिका विगतका विचारहरू स्वाभाविक रूपमा बढी छानबिनमा पर्ने गर्छन्।

यद्यपि अहिलेसम्म मन्त्री पौडेलले सामाजिक सञ्जालमा फैलिएको विवादबारे औपचारिक प्रतिक्रिया दिएका छैनन्। मन्त्रालयले पनि यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन। तर, एउटा कुरा भने स्पष्ट छ— २०७५ सालमा प्रकाशित ‘जोगी जिन्दगी’ नामक स्मृतिले २०८३ सालको राजनीतिक बहसमा अप्रत्याशित पुनर्जन्म पाएको छ। र, अहिलेको बहस केवल एउटा पुरानो लेखको होइन, सार्वजनिक जीवन, निजी अभिव्यक्ति, नैतिकता र राजनीतिक उत्तरदायित्वबीचको जटिल सम्बन्धबारे हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट