जेनजी आन्दोलनमा पूर्वमन्त्रीको घरबाट ६४ लाखको गहना चोरी, ३० हजार धरौटी बुझाउन नसक्दा उदयपुरकासहित २ जना जेल

काठमाडौँ— जेनजी आन्दोलनका क्रममा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको घरमा चोरी गरेको घट्नामा दुई जना कारागार चलना भएका छन्। प्रहरीले घटनास्थलको अनुसन्धानपछि उदयपुरको कटारी नगरपालिका–७ निवासी २९ वर्षीय सुजन सेवा र महोत्तरीको बर्दिबास नगरपालिका–६ का ३० वर्षीय सञ्जय परियारलाई पक्राउ गरेको थियो।
दुवै हाल ललितपुर धापाखेलमा बस्दै आएका थिए। जिल्ला अदालत, ललितपुरले उनीहरूलाई जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर दुवैले धरौटी बुझाउन नसकेपछि उनीहरूलाई नख्खु कारागारमा जेल चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।
पूर्वमन्त्री कार्कीले दिएको जाहेरीअनुसार, चोरीमा करिब ६४ लाख ५३ हजार रुपैयाँ बराबरको सुनचाँदी र गरगहना समावेश छ। यसमा ५ लाख नगद, १८ लाख मूल्य बराबरको हीराको २ थान गहना, १२ लाख बराबरको हीराको टप ७ थान, २५ लाख मूल्य बराबरको सुनको ४ सेट गहना, ३ लाखको मोतीको माला, १ लाख बराबरको थाँदीको थाल र किस्ती, चाँदीका कचौरी, चम्चा, गणेश र कुबेर मूर्ति, तामाको जग, गिलास आदि छन्।
त्यसैगरी, चोरीसँगै फर्निचर, कपडा, बा ९१ प ३९५९ नम्बरको पल्सर मोटरसाइकल र स्कुटर समेत क्षति भएको बताइएको छ। कुल क्षति करिब ७४ लाख ५३ हजार रुपैयाँ रहेको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
उक्त चोरी र क्षतिको उजुरी परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। प्रहरीले जिल्ला सरकारी वकील कार्यालय ललितपुर मार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
प्रहरीले अनुसन्धान जारी राख्दै चोरीमा संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि प्रयास जारी राखेको जनाएको छ।