सानोभर्‍याङमा करिव १ करोड नगद र सुनसहित चीनियाँ नागरिक र एक महिला पक्राउ

काठमाडौँ— काठमाडौँको सानोभर्‍याङस्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा अवैध नगद र सुन बरामद गरेको छ। प्रहरीले चिनियाँ नागरिक ३८ वर्षीय यिनहोल र धादिङको निलकण्ठ नगरपालिका–५ की २२ वर्षीया रेजिना सुनारको कोठाबाट उक्त रकम र सुन बरामद गरेको हो।

प्रहरी वृत्त स्वयम्भूका अनुसार उनीहरूको कोठामा लुकाएर राखिएको अवस्थामा नगद ६९ लाख ८५ हजार रुपैयाँ फेला परेको हो। नगदसँगै सुटकेस र सोफामुनी लुकाइएका सुनका विभिन्न गहना र विदेशी उपकरणहरू समेत बरामद गरिएको छ।

बरामद सामग्रीमा सुनको नेकलेस दुई थान, झुम्का दुई थान, बाला चार थान, औंठी तीन थान, नत्थी एक थान, शीरबन्दी एक थान, साथै चार वटा आइफोन, एक म्याकबुक र अर्को मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, बा.प्र. ०१–०३१ प ५२६२ नम्बरको बीवाईडी कार, रेजिना सुनारको नागरिकता र यिनहोलको राहदानी पनि प्रहरीले बरामद गरेको छ।

उनीहरू बस्ने घरमा रहेका अन्य चारजना महिलालाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बरामद वस्तुहरूको स्रोतबारे अनुसन्धान भइरहेको छ र प्रारम्भिक चरणमा यो आर्थिक अपराध वा अवैध कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।

स्वयम्भू वृत्तका एक अधिकारीले भने, ‘पैसाको स्रोत र सुनको वास्तविकता प्रमाणिकरणका लागि राजश्व अनुसन्धान विभागसँग सहकार्य भइरहेको छ। यो घटनाले विदेशी नागरिक संलग्न आर्थिक अपराधको जालोबारे गम्भीर संकेत गरेको छ।’

प्रहरीले थप अनुसन्धानपछि घटनासँग सम्बन्धित सबै पक्षमाथि कानुनी कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट