बाबुलको ‘विवाहको झुटो आश्वासनले नितुको मृत्यु भएको’ बुबाको आरोप, गायक बाबुल गिरी पक्राउ
काठमाडौँ— गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीको स्टुडियोमा गत शनिबार आगो लगाएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्युले अहिले सांगीतिक क्षेत्र स्तब्ध बनेको छ। उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरस्थित बर्न अस्पतालमा नितुको निधन भएपछि गिरीमाथि आत्महत्या दुरुत्साहनको अभियोग लगाउँदै प्रहरीले पक्राउ गरेको छ।
नितुका बुबा रमेशप्रसाद पौडेलले छोरीको मृत्युका लागि बाबुल गिरीलाई प्रत्यक्ष जिम्मेवार ठहर गर्दै गम्भीर आरोप लगाएका छन्। उनका अनुसार बाबुलले विवाहको झुटो आश्वासन दिँदै छोरीलाई लामो समयदेखि मानसिक र भावनात्मक यातना दिएको थियो। ‘बाबुलले बिहे गर्छु भन्दै शारीरिक सम्बन्ध राख्थ्यो, तर अन्ततः टार्न थाल्यो। त्यसकै कारण मेरी छोरीले यस्तो निर्णय लिई,’ रमेशले भने।
परिवारका अनुसार नितु र बाबुलबीच आठ वर्षदेखिको प्रेम सम्बन्ध थियो। दुई वर्षअघि नै नितुले कान्छी बहिनीलाई समेत बाबुलसँग विवाह गर्छु नत्र गर्दिनँ भन्दै दबाब दिएकी थिइन्। गिरीका बुबा बितेपछि नितुले उनका आमासँग समेत विवाहको कुरा मिलाउने प्रयास गरेकी थिइन्। तर दसैंमा कुरा टुंग्याउने भनिएकी नितुको मृत्युले पौडेल परिवार शोकमग्न छ।
प्रहरीमा दर्ता जाहेरीका अनुसार, घटनाको दिन बाबुलले नितुलाई ‘सम्बन्ध टुंगो लगाउन’ भन्दै स्टुडियो बोलाएका थिए। उनले आफ्नो परिवार (दिदी अञ्जली, मिना र दाइ हाम गिरी) नितुसँगको सम्बन्ध स्वीकार्न तयार नभएको र त्यसैले विवाह सम्भव नहुने बताएका थिए। त्यसपछि भएको वादविवादकै क्रममा नितुले आफ्नै शरीरमा आगो लगाएको जाहेरीमा उल्लेख छ।
‘बाबुलले छोरीको सहयोग लिँदै गीतहरूमा अवसर खोज्यो। जब नाम चल्न थाल्यो, तब उसले हाम्रो छोरीलाई बेवास्ता ग¥यो’–नितुका बुबाले भनेका छन्। पौडेल परिवारका अनुसार बाबुलका परिवारले पनि नितुलाई धम्क्याउने र चरित्र हत्याको प्रयास गर्ने गरेका थिए।
एक वर्षअघिदेखि नै नितु बाबुलको व्यवहारका कारण मानसिक तनावमा रहेको उनका साथीहरूले बताएका छन्। उनीहरूका अनुसार, नितु प्रायः मलिन देखिन्थिन् र बारम्बार ‘घरको स्थिति र बाबुलको व्यवहारले आफूलाई थिचेको’ बताउँथिन्।
नितुको मृत्युपछि परिवारले न्यायिक कारबाहीको माग गरेको छ भने प्रहरीले गिरीमाथि प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।
३० वर्षीया नितु एक दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय थिइन्। उनले ‘आँखैमा पियार मनमा तिर्सना’ लगायतका गीतहरूमा स्वर दिएकी थिइन् र सो गीत युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ। गायनसँगै उनी मोडलिङ र क्याफे सञ्चालनमा पनि संलग्न थिइन्।
गिरी र नितुले ‘सत्य राम कसम’, ‘उसको नजरमा के’, ‘हाइ हाइ शिव हाइ हाइ’ लगायत गीतहरूमा सहकार्य गरेका थिए। पछिल्ला वर्षमा गिरीका ‘घामै राजा’, ‘सुतेर उठेको पैसामा’ लगायत गीतले चर्चा पाएका थिए।
