नेपाली समाज र युट्युबरमाथि दिल निशानीको प्रहारः ‘राजेन्द्र खड्गीले हस्तमैथुन गरेको भीडीओमा ७ मिलियन भ्युज !
काठमाडौँ — लेखक तथा स्तम्भकार दिल निशानी मगरले सामाजिक सञ्जालमा एक लामो र व्यङ्ग्यात्मक स्ट्याटस लेख्दै अहिलेको नेपाली सामाजिक–राजनीतिक अवस्थामाथि गहिरो टिप्पणी गरेका छन्। उनले यो पुस्ता ‘लोकप्रियतावाद’को नशामा डुबेको र तथ्यभन्दा ‘भाइरल’ हुने मानसिकताले देशलाई नै बर्बादीतर्फ धकेलेको आरोप लगाएका छन्।
मगरले आफ्नो स्ट्याटस पत्रकार टंक दाहाललाई सम्बोधन गर्दै सुरु गरेका छन्। उनले लेखेका छन्, ‘हाम्रा नेताहरू जिमेल आइडी खोल्न पनि जान्दैनन्, तपाईंले जस्तो भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी पनि जान्दैनन्। यिनीहरू भैंसी गोठालाका छोराहरू हुन्। त्यसैले अब यिनीहरू माथि दया गरेर साइबर आक्रमण बन्द गरौँ, साइबर बुलिङ रोकौँ।’
उनले हालको ‘डिजिटल संस्कृतिमा’ ज्ञानभन्दा भाइरल हुने क्षमता ठूलो मानिने प्रवृत्तिप्रति तीव्र आलोचना गरेका छन्। ‘अब छोरीलाई ज्वाइँ खोज्दा पनि भाइरल छ कि छैन भन्ने प्रमाण चाहिन्छ,’ उनले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘धेरै भ्युज, लाइक र कमेन्ट बटुल्न सक्ने मानिस नै आज महान् कहलिन्छ।’
मगरले नेपाली युट्युबर र कन्टेन्ट क्रिएटरहरूको ट्रेन्डमाथि पनि प्रहार गरेका छन्। उनले उदाहरण दिँदै भनेका छन्, ‘केही दिनअघि खलनायक राजेन्द्र खड्कीले सानै उमेरमा हस्तमैथुन गरेको भनी खुलासा गरेका थिए, जसको भ्युज सात मिलियन कटेको थियो। यही नै हाम्रो ‘कन्टेन्टको स्तर’ हो।’
मगरले ऐतिहासिक दृष्टान्तहरू जोड्दै ‘भ्रम’ कसरी समाज र युद्धको कारण बन्न सक्छ भन्ने व्याख्या गरेका छन्। उनले अमेरिकाको टोंकिन खाडी घटना (१९६४) स्मरण गर्दै भनेका छन्, ‘झुटा रिपोर्टका कारण अमेरिकी सेना भियतनाम युद्धमा फस्यो र तीस लाख मानिसको ज्यान गयो।’
त्यसै सन्दर्भमा उनले महाभारत र हालको जेनजी आन्दोलनबीच समानता देखाउन खोजेका छन्। ‘कुरुक्षेत्रको युद्ध जस्तै, जेनजी आन्दोलनका क्रममा पनि भ्रम फैलाउने ‘दुर्योधन जस्ता युट्युबर’ हरू नै विनाशको कारण बने,’ उनले लेखेका छन्।
मगरले नेपाली समाज र नेताहरू आर्थिक रूपमा स्वतन्त्र नभएकै कारण वैचारिक रूपमा पनि स्वतन्त्र हुन नसकेको तर्क गरेका छन्। ‘नेताको पछि नलागे बिरामी पर्दा एम्बुलेन्स आउँदैन, घरमा खानेपानी र बिजुली जडान पनि नेताको कृपामै हुन्छ’ उनले वास्तविक्तालाई प्रष्ट पार्दै भनेका छन्, ‘कोही रहरले पार्टिको झोले भएको छैन, प्रणालीले नै त्यसो बनाएको हो।’
उनका अनुसार, जो मानिस आर्थिक रूपमा स्वतन्त्र हुँदैन, त्यो वैचारिक रूपमा पनि स्वतन्त्र हुँदैन। उनले नेपालका नेताहरू विदेशी शक्तिको दलाल बनेको पनि प्रष्ट पारेका छन्। ‘हामीलाई डलर चाहिएको छ, त्यसका लागि विदेशीका दलाल बन्न बाध्य बनाइएको छ,’ मगरले लेखेका छन्।
मगरले अमेरिकादेखि भारत, युरोप र दक्षिण एसियासम्मका बेरोजगारी र भ्रष्टाचारका सन्दर्भ उल्लेख गर्दै नेपालले पनि त्यसै समस्याको सामना गरिरहेको बताएका छन्। उनले लेखेका छन्–‘नेपालको समस्या आतंकवाद, गृहयुद्ध वा दंगा होइन — बेरोजगारी र भ्रष्टाचार हो।’
उनले जेनजी आन्दोलनले देशमा नयाँ ऊर्जा भरे पनि अब भ्रम होइन, समाधानमुखी रचनात्मक सोच आवश्यक रहेको बताएका छन्। ‘यदि हामीले भ्रमको खेती रोकेनौं भने भोलि नेपाल पनि सिरिया, गाजा वा युक्रेनजस्तै बन्न सक्छ,’ मगरले टंक दाहाललाई चेतावनी दिँदै भनेका छन्, ‘त्यो दिन तपाईंको युट्युब च्यानल सब्स्क्राइब गर्ने कोही पनि जीवित रहने छैनन् — संभवत म पनि।’
उनको यो पोस्ट सामाजिक सञ्जालमा तीव्र गतिले भाइरल भइरहेको छ। धेरैले यसलाई आधुनिक लोकप्रिय संस्कृति र डिजिटल भीड–मानसिकतामाथि गरिएको गहिरो व्यङ्ग्यका रूपमा व्याख्या गरेका छन्।
यस्तो छ दिल निशानीको फेसवुक स्ट्याटस
लोकप्रिय
सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
