‘अर्को दशैं ओली र बस्नेतले हेर्न पाउँदैनन्’ भन्ने धम्कीपछि निकोलस भुसाल पक्राउ, गोरखाबाट काठमाडौं ल्याइँदै
राजविराज — आफूलाई जेन–जी आन्दोलनको अगुवा बताउने निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट मंगलबार दिउँसो पक्राउ गरेको हो।
निरन्तर विवादास्पद अभिव्यक्ति दिँदै आएका भुसाललाई प्रहरीले केही समयदेखि निगरानीमा राखेको थियो। उनलाई अब थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। भुसाललाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ।
भुसालले केही दिनअघि काठमाडौंको कान्तिपथस्थित होटल यल्लो पगोडामा पत्रकार सम्मेलन गर्दै निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले नेता महेश बस्नेतविरुद्ध सार्वजनिक रूपमा धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।
उनले भदौ २३ गतेको जेन–जी आन्दोलनमा भएको भिडन्तलाई ‘नरसंहार’ भन्दै ओली र लेखकलाई लक्षित गर्दै भनेका थिए — ‘हामी अहिंसावादी भएकै कारण उनीहरू आज जीवित छन्, भैरवनाथ गणका सेनाले त थुतेर निकाल्ने अनुमति पनि दिएको थियो, तर मैले रोकेँ।’
त्यसै क्रममा उनले अर्को चेतावनी पनि दिए — ‘अब अर्को दशैं ओली र महेश बस्नेतले हेर्न पाउने छैनन्।’ भुसालको यो अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया आएको छ। विश्लेषकहरूले यस्तो धम्कीपूर्ण भाषालाई लोकतान्त्रिक मूल्य र कानुनी मर्यादाविपरीत भन्दै आपत्ति जनाएका छन्।
कानुनविद्हरूले समेत यस्तो अभिव्यक्ति संवैधानिक मर्यादाको उल्लंघन र फौजदारी अपराधको दायराभित्र पर्न सक्ने बताउँदै तत्काल कानुनी कारबाही गर्न आग्रह गरेका छन्। सुरक्षा निकायका स्रोतका अनुसार, भुसालको वक्तव्यपछि गृह मन्त्रालयले प्रारम्भिक तथ्य संकलन र कानुनी मूल्याङ्कन गर्न निर्देशन दिएको छ। स्रोतका भनाइमा, उनले प्रयोग गरेको शब्दावली, स्थान र वक्तव्यको समयसन्दर्भ सबैबारे विस्तृत अनुसन्धान भइरहेको छ।
एमालेका नेताहरुले भने यसलाई ‘सीधा हिंसात्मक धम्की’ र ‘राजनीतिक उत्तेजना फैलाउने प्रयास’ भनेर कठोर शब्दमा विरोध गरेको छ।

