गौशालामा क्यान्सरका कारण एक हप्ताभित्रै दुई शिक्षकको मृत्यु
महोत्तरी– महोत्तरीको गौशाला नगरपालिकामा क्यान्सरजस्तो प्राणघातक रोगले एक हप्ताभित्रै दुई शिक्षकको ज्यान लिएको छ। गौशालामा कार्यरत दुवै शिक्षक उपचारकै क्रममा निधन भएपछि नगरकै शैक्षिक समुदाय स्तब्ध बनेको छ।
गौशाला नगरपालिका–८ स्थित वीरेन्द्र माध्यमिक विद्यालय वेलगाछीका स्थायी मावि शिक्षक एवम् प्रधानाध्यापक रामनारायण साहको सोमबार राति उपचारकै क्रममा मृत्यु भएको हो। उनी लामो समयदेखि मस्तिष्कघात र क्यान्सर दुवै समस्याबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि साहले राजधानीलगायत विभिन्न अस्पतालमा उपचार गराउँदै आएका थिए।
विद्यालयका निमित्त प्रधानाध्यापक लालकिशोर रायका अनुसार साहले एक वर्षअघि नै आफू काम गर्न असमर्थ भएपछि विद्यालयको सम्पूर्ण प्रशासनिक जिम्मेवारी उनलाई सुम्पिएका थिए। ‘उनी स्वास्थ्य लाभका क्रममा बाहिर रहँदा पनि विद्यालयको कार्य सञ्चालनमा निरन्तर सल्लाह र सहयोग गर्थे,’ रायले बताए ।
यसअघि सोही पालिकामा रहेको श्री जनता आधारभूत विद्यालय ढल्केवर–८ की बालविकास शिक्षिका रेश्मा बलम्पाकीको पनि गत कात्तिक १० गते क्यान्सरकै कारण निधन भएको थियो। करिब २० वर्षदेखि बालविकास शिक्षकका रूपमा कार्यरत रहेकी बलम्पाकीलाई गत फागुन महिनामा क्यान्सर भएको पत्ता लागेको थियो।
विद्यालयका प्रधानाध्यापक घनश्याम देवकोटाका अनुसार स्वास्थ्यमा असहजता देखिएपछि बलम्पाकीले विभिन्न स्वास्थ्य संस्थामा उपचार गराइरहेकी थिइन्। ‘डाक्टरको निरन्तर निगरानीमा उपचार चलिरहे पनि उनको स्वास्थ्यमा सुधार हुन सकेन,’ देवकोटाले भने।
एकै नगरपालिकाका दुई शिक्षकले छोटो अवधिमा ज्यान गुमाएपछि गौशाला नगरपालिकाको कार्यालयले संयुक्त शोक वक्तव्य जारी गरेको छ। वक्तव्यमा भनिएको छ, ‘शिक्षक साह र शिक्षिका बलम्पाकीको निधनले नगरको शैक्षिक क्षेत्रमा गम्भीर क्षति भएको छ। उनीहरूले जीवनभर शिक्षाको उत्थान र बालबालिकाको उज्यालो भविष्यका लागि योगदान पु¥याए।’
नगरपालिकाले दुबै परिवारप्रति संवेदना व्यक्त गर्दै शैक्षिक समुदायमा स्वास्थ्य सचेतना र नियमित स्वास्थ्य परीक्षणको आवश्यकता औंल्याएको छ। स्थानीय बासिन्दा र विद्यार्थीहरूले पनि विद्यालयमा दुवै शिक्षकको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेका छन्।

