गजेन्द्रनारायण सिंह अस्पतालको अव्यवस्थामाथि जेनजी सप्तरीको आक्रोशः ‘खेलवाड भए सडकमा उत्रिन्छौं’
राजविराज — सप्तरी जिल्ला जेनजी अभियानले जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र गजेन्द्रनारायण सिंह अस्पतालको दयनीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सीडीओमार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा अस्पतालको बिग्रँदो अवस्था, जनसेवाको ह्रास र मन्त्रालयको बेवास्ता विरुद्ध तत्काल कदम चाल्न माग गरिएको छ।
ज्ञापनपत्र अनुसार, गजेन्द्रनारायण सिंह अस्पताल संघ सरकार अन्तर्गत सञ्चालनमा रहेको सप्तरीको एक मात्र ठूलो अस्पताल हो, तर यसको अवस्था सुरुदेखि नै अत्यन्त दयनीय छ। अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीको गम्भीर अभाव छ। भएका चिकित्सक तथा कर्मचारीहरू पनि लामो समयदेखि काजमा छन्। यस कारण अस्पतालमा एचडियु, आइसियुलगायतका विशेष सेवा सुचारु हुन सकेका छैनन्।
जेनजीले सरकारको ध्यानाकर्षण गराउँदै भनेको छ, ‘तीन सय बेडको भौतिक संरचना तयार भए पनि अहिले पचास बेडको मात्र स्वीकृति दिइएको छ। त्यसमा समेत कर्मचारीहरू काज सरुवामा रहेका छन्। यस्तो अवस्थामा अस्पतालले सेवा दिन सक्ने अवस्था कल्पना गर्न पनि गाह्रो छ।’
ज्ञापनपत्रमा औषधिको निरन्तर अभावलाई पनि गम्भीर समस्या भनेर उल्लेख गरिएको छ। जेनजीका अनुसार, यो समस्या नयाँ होइन—विगतदेखि नै मन्त्रालयले यसमा ध्यान नदिँदा समस्या झन् बढ्दो क्रममा छ।
अस्पतालको स्थायित्वमा समेत अस्थिरता देखिएको ज्ञापनपत्रमा उल्लेख छ। पछिल्लो दुई वर्षमा चारवटा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरेर मन्त्रालयले राजनीतिक र व्यक्तिगत स्वार्थमा काम गरेको आरोप लगाइएको छ। ‘मन्त्रालयले दरबन्दी अनुसारका मेसु हटाएर एक तह तल्लो स्तरका मेसुलाई ‘निमित्त’ को जिम्मेवारी दिन लागेको छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘यसले अस्पतालको व्यवस्थापन र सेवा गुणस्तरमा प्रत्यक्ष असर पार्नेछ।’
जेनजी सप्तरीले ज्ञापनपत्रमार्फत स्वास्थ्यमन्त्री र प्रशासनसमक्ष चारवटा प्रमुख माग अघि सारेको छ। पहिलो, अस्पतालमा दरबन्दी अनुसारकै स्थायी मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्नु पर्ने, दोस्रो, काज सरुवामा रहेका चिकित्सक तथा कर्मचारीलाई फिर्ता बोलाउन वा वैकल्पिक व्यवस्था मिलाउनु पर्ने, तेस्रो, अस्पताललाई पूर्ण तीन सय बेडको रूपमा संचालनका लागि आवश्यक व्यवस्था तुरुन्त मिलाउनु पर्ने र चौथो, अस्पतालमा विशेष स्वास्थ्य सेवाहरू थप गर्न मन्त्रालयले सहयोग गर्नु पर्ने।
जेनजीका युवाहरूले चेतावनी दिँदै भनेका छन्, ‘गजेन्द्रनारायण सिंह अस्पताल केवल स्वास्थ्य सेवा प्रदायक संस्था होइन, यो जनजीवनको रक्षक केन्द्र हो। यससँग खेलवाड गरे हामी सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं।’

