गजेन्द्र नारायण अस्पतालका मेसुको अडियो काण्डः रोजगारीको प्रलोभनमा महिला स्वास्थ्यकर्मीलाई यौन प्रस्ताव
काठमाडौँ — सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश प्रसाद साह यौन काण्डमा फसेका छन्। उनीमाथि पदको दुरुपयोग गर्दै रोजगारीको प्रलोभनमा महिला स्वास्थ्यकर्मीलाई यौन प्रस्ताव राखेको अडियो सार्वजनिक भएपछि व्यापक आलोचना सुरु भएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा डा. साह एक महिला स्वास्थ्यकर्मीलाई जागिर दिने प्रलोभन देखाउँदै आफूसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरिरहेको स्पष्ट सुन्न सकिन्छ। उनले फोनमा भनिरहेका छन् — ‘इन्टिमेसी भएपछि धेरै कुरा हुन्छ।’
अडियोमा बोल्ने पुरुषको स्वर डा. प्रकाश साहकै भएको दावी गरिएको छ। अडियोमा डा. साहले ती युवतीलाई अस्पतालमा रोजगारी दिलाइदिने आश्वासन दिँदै निरन्तर माया, आकर्षण र यौन प्रस्ताव राखिरहेका छन्। उनले मोबाइलमा कल गर्दै भनेका छन् — ‘रिप्लाई आएन, सुतिसक्या होला भनेर बिहान कल गरेको।’
त्यसपछि उनले उमेर नमिल्ने भए पनि ‘सुन्दरी भएकी’ भन्दै प्रेम व्यक्त गरेका छन् — ‘आइ लाइक यु, आइ लभ यु।’ संवादमा डा. साहले समितिको जागिर स्थायी जस्तै हुने भन्दै युवतीलाई प्रलोभनमा पार्ने प्रयास गरेका छन्। उनले भनेका छन् — ‘समितिको जागिर भनेको स्थायी जागिरे जस्तै हो क्या… १८ जनाको दरबन्दी हो नि यहाँ। इन्टिमिसी छ भने धेरै कुरा हुन्छ नि।’
त्यसपछि उनी युवतीलाई ‘भोली आउँ न, हेर्नलाई… कति बजे आउँछौ?’ भन्दै भेटको प्रस्ताव राख्दै फोन बन्द गर्छन्। संवादभर युवतीले ‘हजुर, हजुर…’ भन्दै हाँसेर मात्र प्रतिक्रिया दिएकी छन्। संवादमा डा. साहले अडियो आफ्नो श्रीमतीसँगको निजी कुरा भएको र कसैले रेकर्ड गरेको दाबी गरे पनि अडियोको भाषाशैली र प्रसङ्गले त्यो दाबी असत्य प्रमाणित भएको बताइएको छ।
डा. साह पहिले पनि अस्पतालका उपकरण खरिदमा मिलेमतो गरेको आरोपमा विवादित बनेका थिए। उनीमाथि निश्चित कम्पनीका सप्लायर्ससँग आर्थिक साँठगाँठ गरेर ठेक्का मिलाएको प्रमाणसहित समाचारहरु प्रकाशित भएका थिए। त्यसपछि तत्कालीन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले उनलाई सप्तरीमा सरुवा गरेका थिए।
तर हाल पुनः उनीमाथि यौन दुव्र्यवहारको अडियो सार्वजनिक भएपछि प्रश्न उठ्न थालेको छ — के स्वास्थ्य मन्त्रालय भ्रष्ट र अनैतिक व्यवहारमा संलग्न अधिकारीहरूलाई संरक्षण गर्नतिर उन्मुख छ? अस्पतालभित्र रोजगारीको प्रलोभनमा महिलालाई यौन प्रस्ताव राख्ने मेसुको यस्तो अडियोले राज्यको नैतिकता र सार्वजनिक सेवा प्रणालीको चरित्रमाथि गम्भीर प्रश्न उठाएको छ।
@sheershakhabarnews.com सप्तरीमा अस्पतालका मेसुले राखे स्वास्थ्यकर्मीलाई यौन प्रस्ताव, अडीओ सार्वजनिक

