सप्तरीमा गाउँपालिका अध्यक्षको राजीनामा विवादः मदिराको नशामै अध्यक्षको पद गयो, उपाध्यक्षको हातमा लड्डु
राजविराज — सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा अध्यक्ष दिनानाथ चौधरीको राजीनामा प्रकरणले स्थानीय राजनीति तातेको छ। उपाध्यक्ष कल्पना चौधरीलगायतका कार्यपालिका सदस्यहरूले अध्यक्षले राजीनामा दिएर पद छाडिसकेको दाबी गरिरहेका छन् भने अध्यक्ष स्वयम्ले भने त्यसलाई मनगढन्ते र नियोजित षड्यन्त्र भन्दै अस्विकार गरेका छन्।
तर, विवादकैबीच उपाध्यक्ष कल्पना चौधरीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कार्यवाहक अध्यक्षको पदभार ग्रहण गरी सकेकी छिन्। यो विवाद गत मंगलबार साँझ सार्वजनिक भएको एक पत्रबाट सुरु भयो। उक्त पत्रमा असोज ५ गतेको मितिमा अध्यक्षले राजिनामा दिएको र कात्तिक १८ गते कार्यपालिका बैठकबाट स्वीकृत भएको उल्लेख थियो।
उपाध्यक्ष कल्पना चौधरी र वडा नम्बर १ का वडाध्यक्ष सबजुल खलिफाले अध्यक्षले राजीनामा दिएको पुष्टि गरेपछि राजनीतिक सरगर्मी चुलियो। तर, अध्यक्ष चौधरीले विज्ञप्ति जारी गर्दै उक्त पत्र नक्कली भएको र आफूले कहिल्यै पनि राजीनामा नदिएको दाबी गरे। ‘मैले कुनै निकायमा राजीनामा पेस गरेको छैन। यदि मैले स्वेच्छाले राजीनामा दिएको भए कार्यपालिका बैठक कसरी बसेको होला, अन्य गतिविधि कसरी सञ्चालन भएको होला?’ उनले प्रश्न उठाए।
अध्यक्ष चौधरीका अनुसार राजीनामा भएको भनिएको पत्र ४२ दिनपछि मात्रै सार्वजनिक हुनु आफैंमा शङ्कास्पद छ। उनले भने, ‘त्यो पत्रमा दर्ता र चलानी नम्बर छैन। राजीनामा दिएको भए तत्कालै सार्वजनिक हुन्थ्यो, महिनौँ लुकाउनु पर्ने कारण के थियो ?’ तर, उपाध्यक्ष कल्पना चौधरी भने आफनै अडानमा छिन् — ‘अध्यक्षले राजीनामा दिएकै हो, हस्ताक्षर पनि वहाँकै हो। यसबारे निर्वाचन आयोगलाई पनि जानकारी पठाइसकिएको छ।’
वडा नम्बर ६ का वडाध्यक्ष अशोककुमार आचार्यले भने यो स्थिति अध्यक्षकै व्यवहारका कारण आएको टिप्पणी गरे। उनका अनुसार लामो समयदेखि पालिकाको प्रशासनिक कार्य अवरुद्ध थियो, जसका कारण कर्मचारीहरू तलब–भत्ताका लागि आन्दोलनमा उत्रिएका थिए। त्यसपछि परिषद्को दिन अध्यक्ष आफैले राजिनामा दिए। यद्यपी, अध्यक्षको राजिनामा भने मदिराको नसामा लट्ठ भएको वेला हस्ताक्षर गराईएको खुलेको छ।
स्रोतका अनुसार जनप्रतिनिधिको विवादका कारण गाउँसभा हुन सकेको थिएन। कयौं प्रयासपछि असोज ५ गते दिउँसो १ बजेका लागि गाउँसभा बोलाइएको थियो। तर अध्यक्ष दिनानाथ चौधरी बिहानै मदिरा सेवन गरेर कार्यालय पुगे र नशाको अवस्थामा गाउँसभा स्थगित गर्ने प्रक्रिया सुरु गरे। उनले आईटी कर्मचारीलाई सूचना टाइप गर्न लगाइरहेका बेला कार्यपालिकाका अन्य सदस्यहरू पुगे र आपत्ति जनाए।
प्रत्यक्षदर्शीका अनुसार, अध्यक्षको अवस्था यति बिग्रिएको थियो कि पत्रकारहरूले फोटो खिच्दा उनले आपत्ति जनाउँदै अभद्र ब्यवहार गरे। ‘खिच्नै हो भने यो पनि खिच’ भन्दै उनले गोप्य अंगसमेत देखाई दिए। त्यसै दिन उनले उपाध्यक्षको कार्यकक्षमा प्रवेश गरेर वडा नम्बर ५ का वडाध्यक्ष हरि खंगलाई खुट्टा मालिस गर्न लगाएको घटनाले वातावरण झन् तातेको थियो।
लामो विवादपछि कार्यपालिका सदस्यहरूले उनलाई ‘यदि गाउँसभा स्थगित गर्नै छ भने राजीनामा देऊ’ भन्दै दबाब दिए। उनले पनि नशाको झोकमा हस्ताक्षर गरिदिए। यही हस्ताक्षरित पत्र नै अहिलेको राजीनामा विवादको जड बनेको हो। यद्यपी, सोही दिन गाउँसभा पनि सम्पन्न भयो।
त्यतिबेला प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरी थिए। तर अध्यक्षको व्यवहार र अपशब्दका कारण उनले प्रशासन प्रमुख योगेन्द्र यादवलाई निमित्त दिएर कार्यालय आउन छोडेका थिए। गाउँसभा सम्पन्न भएको २/३ दिनपछि कार्यपालिका बैठकले योगेन्द्र यादवलाई आर्थिक कारोबारको जिम्मेवारी दिन मन्त्रालयमा पत्र पठायो। तर अध्यक्ष असन्तुष्ट रहे। उनले आफ्नो सम्पर्क कार्यालय जण्डौलमा गएर मन्त्रालयलाई अर्को पत्र पठाए। उनको पत्रमा योगेन्द्रलाई नभई वरिष्ठताको आधारमा आयुर्वेदिक औषधालयमा कार्यरत सञ्जय साहलाई निमित्त दिन आग्रह गरे।
त्यसपछि कार्यालयमा दुई पक्षीय द्वन्द्व सुरु भयो। अध्यक्ष समर्थक कर्मचारीहरूले योगेन्द्रको विरोध गर्दै आन्दोलन गरे। त्यही मौका पारेर अध्यक्षले सञ्जयलाई निमित्त तोक्दै पत्राचार गरेपछि मन्त्रालयले सञ्जयलाई काठमाडौँ बोलायो। तर, मन्त्रालय पुगेपनि उनले निमित्तको जिम्मेवारी पाएनन्। अध्यक्षकै पत्रअनुसार वरिष्ठता अनुसार इन्जिनियर रमेश चौधरीलाई निमित्तको जिम्मेवारी तोकियो। तर अध्यक्षले उनलाई पनि मान्न अस्वीकार गरे र हाजिर नगराउने अडान लिए।
रमेशलाई हाजिर गराउनु पर्ने वाध्यता आईलाग्ने भएपछि उनी कार्यालय पनि आउनै छाडे। यसैबीच कात्तिक १७ गतेदेखि शिक्षक र कर्मचारीहरू तलब–भत्ताका लागि पुनः आन्दोलनमा उत्रिए। आर्थिक कारोबार ठप्प हुँदा अध्यक्षको खोजी भयो। दुई दिनसम्म बोलाउँदा पनि कार्यालयमा नआएपछि कार्यपालिकाको बैठक बसेर असोज ५ गते उनले हस्ताक्षर गरेको भनिएको राजीनामा पत्र झिकियो र कात्तिक १८ मा औपचारिक रूपमा स्वीकृत गरियो।
त्यसै बैठकले उपाध्यक्ष कल्पना चौधरीलाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय गर्यो। सो निर्णयमा अध्यक्ष पक्षकै कार्यपालिका सदस्यको पनि हस्ताक्षर भएको बताइन्छ। अध्यक्ष चौधरीले भने आफूले राजीनामा दिएको थाहा नै नभएको बताए। ‘कात्तिक १७ गतेपछि मात्रै मलाई जानकारी भयो। एक सदस्यले निर्णयको फोटो खिचेर ह्वाट्सएपमा पठाएपछि म छाँगाबाट खसेझैँ भएँ,’ उनले भने।
त्यसपछि उनले तत्काल प्रेस विज्ञप्ति जारी गर्दै कानुनी रूपमा अघि बढ्ने चेतावनी दिए। उनि भन्छन्–‘मबाट गलत भएकै रहेछ भने पनि त्यसलाई सच्याएर जाउँ भनेर मैले धेरै आग्रह गरें, तर मेरो कुरा सुनुवाई भएन।’ खास गरी आफुले वजेटमा कडाई गरेका कारण षडयन्त्र भएको उनको वुझाई छ। ‘अघिल्ला वर्षहरूमा वडाको बजेट सिलिङ ५० लाख रुपैयाँ थियो। तर यसपटक एक करोड ५० लाख रुपैयाँ दिएर ४/५ वटा योजनामा मात्र खर्च गर्नुपर्ने सर्त राखियो’ उनले भने–‘यही कुरा उनिहरुका लागि विष भयो। घरघरै वजेट वाँड्न नपाईने भएपछि ममाथि षडयन्त्र भएको हो।’
‘धेरै टोल छन्। ४/५ वटा योजना मात्रमा कार्यान्वयन गर्नुपर्ने सर्तले अप्ठ्यारो पर्छ’ भन्ने उनिहरुको कुरामा आफुले वास्ता नगरेपछि सुनियोजित रुपमा राजिनामाको प्रकरण अघि सारिएको उनको वुझाई छ।
संख्यात्मक रुपमा अल्पमतमा रहेका कारण पनि अध्यक्ष अहिले समस्यामा रहेको स्थानीय जानकारहरु वताउँछन्। ६ वटा वडा रहेको पालिकामा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले अध्यक्षसहित २ वटा वडा (१ र ५) जितेको छ। कांग्रेसले उपाध्यक्षसहित तीन वडा (३, ४ र ६) जितेको छ भने एउटा वडा (२ नम्बर वडा) माओवादी केन्द्रले जितेको हो।
१४ सदस्यीय कार्यपालिकामा कांग्रेसका ८, माओवादी केन्द्र र एमालेका ३–३ सिट छन्। यसकारण अध्यक्ष चौधरी कार्यपालिकामा अल्पमतमा छन्। यही झमेलाले अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा अहिले अशान्त छ। अध्यक्ष पदमाथि कानुनी विवाद, उपाध्यक्षको कार्यवाहक दाबी र कर्मचारी आन्दोलनबीच गाउँपालिका नै निर्णयविहीन बनेको छ।
यद्यपी, विहिबारदेखि गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पनि पाएको छ। यसअघि पनि उक्त पालिकामा काम गरिसकेका धिरेन्द्र यादवले पदभार ग्रहण गरेका छन्। उनले एक हप्ताभित्र राजिनामा विवाद सुल्झाएर शिक्षक कर्मचारीको तलवभत्तासमेत वाँडिसक्ने प्रतिवद्धता जनाएका छन्।
यो पनि,
- अग्नीसाइर गाउँपालिकाको राजनीतिक थ्रिलरः राजिनामा भित्र लुकेको अध्यक्ष र उपाध्यक्षको सत्ता संग्राम
- वडाध्यक्षलाई गोडा मालिस गराउने सप्तरीको अग्नीसाइर गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले दिए पदबाट राजीनामा
- सप्तरीमा राजा–महाराजालाई समेत पछि पार्ने जनप्रतिनिधिको विलासिताः ‘सोफा मसाज’ ले गाउँपालिका अध्यक्ष भाइरल (भीडीओसहित)
लोकप्रिय
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ
सप्तरीमा गाउँपालिका अध्यक्षको राजीनामा विवादः मदिराको नशामै अध्यक्षको पद गयो, उपाध्यक्षको हातमा लड्डु
ताजा अपडेट
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ

