सप्तरीमा ९० भन्दा बढी सदा परिवार हैजाको जोखिममा, नुहाउने र भाँडा माँझ्ने पोखरीमै भेटियो जिवाणु

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ स्थित सदा टोलमा झाडापखालाको संक्रमण तीन सातादेखि नियन्त्रणमा आउन सकेको छैन। उपचार अभावका कारण दुई बालबालिकासहित तीन जनाको ज्यान गइसकेका छन भने अन्य दर्जनौं स्थानीय अझै प्रभावित छन्।

परीक्षणका क्रममा नुहाउने र भाँडा माझ्ने पोखरी तथा भलुवाही खोलाको पानीमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले गत बुधबार ट्युवेल, पोखरी र खोलाको पानीको नमूना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुर पठाएको थियो। शनिबार आएको रिपोर्टमा पोखरी र खोलाको पानी हैजाको जिवाणुले दूषित भएको पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब दिपेन्द्रप्रसाद यादवले जानकारी दिए।

‘हामीले स्थानीयलाई पोखरी र खोलाको पानी प्रयोग नगर्न, भाँडा त्यहाँ नधुन र सफा पानी प्रयोग गर्न लगातार सचेत गराइरहेका छौं,’ यादवले भने, ‘त्यसका लागि अन्य संघसंस्थाबाट खटिएका २० जना स्वयम्सेवक पनि सक्रिय छन्।’ उनका अनुसार हाल संक्रमितहरूको अवस्था सामान्य रहेको र स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी छ।

सदा टोलमा झन्डै ९० परिवार बसोबास गर्छन्। तिनै टोलमा एउटासमेत शौचालय छैन। गाउँका तीन वटा ट्युवेलबाट सबैले खानेपानी, नुहाउने र भाँडा माझ्ने काम गर्दै आएका छन्। पानीको पर्याप्त स्रोत नहुँदा धेरैले पोखरी र खोलाको भर पर्नु परेको हो, तर त्यही पोखरी र खोलाकै पानी अहिले संक्रमणको प्रमुख कारण बनेको छ।

यो टोलको करिब ६ सय मिटर दक्षिण–पश्चिममा रहेको अर्को सदा बस्तीमा २७ विपन्न परिवार बसोबास गर्छन्। यहाँ पनि शौचालय छैन, सफा खानेपानीको अभाव छ, र दुई जनामा झाडापखालाको लक्षण भेटिएको छ। गरिबी, अशिक्षा र स्वास्थ्य सचेतनाको अभावले यहाँको जीवन झनै कठिन बनेको छ।

सदा समुदायका अधिकांश परिवार दैनिक ज्याला मजदुरीमा निर्भर छन्। बिरामी परेपछि उपचारका लागि उनीहरूले ऋण र बृद्धभत्तासम्म खर्च गर्नुपर्ने बाध्यता छ। त्यही टोलकी ६२ वर्षीया समतोलियादेवी सदा चार वर्षदेखि ओछ्यामा थला परेकी छन्। उनको बाँया भाग चल्न छोडेको छ। आर्थिक अभावले उपचार हुन सकेको छैन।

पाँच वर्षअघि भारतको बिहार र पञ्जाबसम्म गएर उपचार गराउँदा १७ हजार रुपैयाँ खर्च भएको थियो। तर, आमाको अवस्था फेरि उस्तै भएको कान्छा छोरा शिवनारायणले वताए। शिवनारायणको दैनिकी अब आमाको स्याहारमै बित्छ — नुहाउने, खुवाउने र बाहिर लगेर शौच गराउने काममा। ‘अब काम गर्न पनि बाहिर जान सक्दिन। दुःख गरेर हुर्काएकी आमाको उपचार गर्न नसक्नु ठूलो पीडा हो।’– उनले गुनासो गरे।

सदा टोलका धेरै बालबालिका विद्यालय जादैनन्। उमेर नपुग्दै विवाह गर्ने चलन अझै कायम छ। वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार समुदायमा ‘गलत खर्च र अस्वच्छ बानी’ पनि ठूलो समस्या हो। ‘दिनभरि मेहनत गर्छन् तर साँझमा कमाएको पैसा मदिरा र फजुल खर्चमै सकिन्छ,’ ठाकुरले भने, ‘त्यो देख्दै हुर्केका बालबालिका पनि त्यही बानी सिकिरहेका छन्।’

उनका अनुसार गाउँपालिकाले स्वास्थ्य सचेतना, सरसफाइ र विद्यालय सहभागिता बढाउन कार्यक्रम सञ्चालन गरिरहेको छ, तर बानी र व्यवहार परिवर्तनमा कठिनाइ आइरहेको छ। स्वास्थ्यकर्मीहरूले संक्रमित बस्तीमा लगातार अनुगमन गरिरहेका छन्। तर, पानी, शौचालय र शिक्षा अभावजस्ता संरचनागत कारणले समस्या दीर्घकालीन बन्ने चिन्ता स्थानीय अधिकारीले व्यक्त गरेका छन्।

सिनियर अहेब यादवका अनुसार, ‘अहिले तत्काल हैजाको फैलावट नियन्त्रणमा छ, तर दीर्घकालीन रूपमा सरसफाइ र खानेपानी प्रणाली सुधार नगरेसम्म यस्तो जोखिम हट्दैन।’ छिन्नमस्ता गाउँपालिकाको सदा टोल अहिले रोग मात्र होइन, संरचनागत बेवास्ताको प्रतिविम्ब बनेको छ। पोखरीमा हैजाको जिवाणु भेटिनु यो समुदायको अस्वच्छ जीवन र राज्यको उदासिनताको साझा संकेत हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट