अष्ट्रेलिया लैजाने प्रलोभनमा भारतीय युवकलाई काठमाडौँ बोलाई अपहरण र लुटपाट गर्ने २ जना पक्राउ

काठमाडौँ— अष्ट्रेलिया पठाइदिने प्रलोभन देखाएर काठमाडौं बोलाइएका एक भारतीय युवकलाई अपहरण गरी लुटपाट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। भारतको हरियाणा राज्यका अंकित कुमारलाई इन्टाग्राममार्फत झुक्याइ नेपाल बोलाएर अपहरण गरिएको हो।

घटनामा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ। पक्राउ पर्नेहरूमा भारतको पञ्जाब राज्यका २४ वर्षीय प्रमप्रित सिंह र २८ वर्षीय लवप्रित सिंह रहेका छन्। दुवैजनामाथि अपहरण, चोरी र लागुऔषध सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्रमप्रित र लवप्रितले ‘ग्लोबल भारत इमिग्रेसन’ नामक इन्स्टाग्राम पेजमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियालगायत देशमा पठाइदिने भन्दै विज्ञापन गर्दै आएका थिए। सोही पेजमार्फत उनीहरूका सम्पर्कमा आएका अंकितलाई उनीहरूले अष्ट्रेलिया ट्रान्जिट भिसामा पठाउने बहानामा नेपाल बोलाए।

गत असोज २३ गते काठमाडौँ पुगेका अंकितलाई ठमेलस्थित स्वीट होम होटलमा राखिएको थियो। त्यसपछि असोज २९ गते उनलाई सुन्धाराको न्यून जोमसोम होटलमा पुर्याई लागुऔषध सेवन गराई मोबाइल फोन र साथमा रहेका दुई हजार अष्ट्रेलियन डलर लुटिएको पीडितले बताएका छन्।

त्यसपछि अपहरणकारीहरूले अंकितको परिवारलाई भारतमै फोन गरी २० लाख भारतीय रुपैयाँ फिरौती मागेका थिए। तर, भोलिपल्ट उनीहरू पोखरा भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।

महानगरीय प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकाविरुद्ध सोमबार अपहरण र चोरी मुद्दा दायर गरिएको छ। अनुसन्धानबाट यो गिरोहले भारतीय नागरिकलाई विदेश पठाइदिने भन्दै पैसा ठगी गर्ने, नेपाल ल्याएर धम्क्याउने र लुटपाट गर्ने कार्य दोहो¥याएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *