सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल तोडफोड र निमित्त मेसुलाई कुटपिट गर्ने ४ जना पक्राउ

राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आइतबार साँझ भएको तोडफोड र निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. दिलीप साहमाथि कुटपिट गर्ने घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार, घटनामा संलग्न भएको अभियोगमा राजविराज नगरपालिका–४ का २४ वर्षीय उदय ठाकुर, सोही ठाउँका २४ वर्षीय बिनित चौहान, विष्णुपुर गाउँपालिका–६ का ५० वर्षीय प्रमेश्वर यादव र सोही गाउँपालिकाका २५ वर्षीय रमन यादवलाई पक्राउ गरिएको हो।

प्रहरीले उनीहरूविरुद्ध ‘सार्वजनिक अस्पतालमा तोडफोड र आपराधिक उपद्रव गरेको’ अभियोगमा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालेको जनाएको छ। डीएसपी पुरीले भने, ‘अस्पतालमा भएको सर्टसर्किटको विषयलाई लिएर भीड आक्रोशित बनेको थियो। तर, सार्वजनिक अस्पतालमा हिंसा र तोडफोड स्वीकार्य छैन। थप व्यक्तिहरूको पनि पहिचान भइरहेको छ।’

अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा भएको विद्युत् सर्टसर्किटका कारण छतको बल्ब खसेर एक नवजात शिशु घाइते भएका थिए। रूपनी गाउँपालिका–५ हर्दियाकी रेखा यादवको शिशु बल्ब खसेर घाइते भएको र थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालले जनाएको छ।

घटनापछि आक्रोशित आफन्त तथा जेन–जी समूहका युवाहरूले अस्पताल प्रशासनमाथि लापरवाहीको आरोप लगाउँदै प्रदर्शन गरेका थिए। उनीहरूले ‘जनताको स्वास्थ्यसँग खेलवाड बन्द गर’ र ‘अस्पताल प्रशासन होसमा आओ’ जस्ता नारा लगाउँदै अस्पताल परिसरमा भीड जम्मा पारेका थिए।

स्थिति नियन्त्रण बाहिर जाँदा भीडले अस्पतालभित्र तोडफोड गरेको थियो। केही व्यक्तिहरूले निरीक्षणका लागि पुगेका निमित्त मेसु डा. दिलीप साहमाथि हातपात गरे। डा. साहले भने–‘म घटनाको कारण बुझ्न एनआईसीयूमा पुगेको थिएँ, त्यही बेला केही व्यक्तिहरूले धकेलेर कुटपिट गरे।’

मेसुमाथि आक्रमण भएपछि अस्पतालका चिकित्सकहरूले सामूहिक रूपमा विरोध जनाउँदै आकस्मिक (इमर्जेन्सी) र एनआईसीयू सेवा बन्द गरेका छन्। उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही नगरेसम्म सेवा सञ्चालन नगर्ने घोषणा गरेका छन्।

घटनापछि अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। स्थानीय प्रशासनले अवस्था सामान्य बनाउन सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ भने अस्पताल प्रशासनले विद्युत् प्रणाली मर्मत गर्दै सेवा सुचारु गर्ने तयारी गरेको जनाएको छ।

स्थानीयवासीले अस्पतालको संरचना जीर्ण र विद्युत् प्रणाली कमजोर भएको गुनासो गर्दै पटक–पटक समस्या दोहोरिएको बताएका छन्। तर, अस्पताल प्रशासनले उक्त घटना आकस्मिक भएको र तत्काल नियन्त्रणका लागि सबै प्रयास गरिएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट