८४ वर्षीय वृद्धको त्रासदीपूर्ण देह त्यागः घरमै शरीरमा आगो लगाउँदा पनि डेढ घण्टासम्म कसैले थाहा पाएन
दमक— झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका ८४ वर्षीय डिल्लीराम अधिकारीले शनिबार राति आफ्नै शरीरमा आगो लगाएर जीवन समाप्त पारेका छन्।
राति करिब साढे ११ बजे आगनमा निस्किएर डिल्लीरामले पेट्रोल छर्की आफैँलाई आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घट्ना करिव डेढ घण्टासम्म परिवारका सदस्यहरूले समेत थाहा नपाएको प्रहरीले जनाएको छ।
करिब १ बजे, घरमा रहेका काइला छोरा भोगेन्द्र अधिकारी बाहिर निस्किँदा बुबालाई अचेत अवस्थामा आँगनमा लडिरहेको देखेका थिए। उनले तत्कालै इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए।
सूचना पाउनेबित्तिकै प्रहरी पुग्दा डिल्लीरामको मृत्यु भईसकेको थियो। त्यसपछि थप अनुसन्धानका लागि धुलाबारीबाट अर्को टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।
परिवारका सदस्यहरूको अनुसार, उनी केही समयदेखि डिप्रेसनको उपचार गराइरहेका थिए। साथै केही महिना अघिमात्र प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको थियो, त्यसपछि उनी शारीरिक तथा मानसिक रूपमा निकै कमजोर बनेका थिए। प्रहरीले अहिले विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।

